नेकपा एमाले उपाध्यक्ष तथा संविधानसभा पूर्व अध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष समेत रहेका उनको मंगलबार राति १ बजे हृदयघातबाट निधन भएको होे ।
बालुवाटारस्थित निवासमा हृदयघात भएसँगै उनलाई परिवारले त्रिवि शिक्षण अस्पताल लगेपनि चिकित्सकले मृत घोषणा गरेको बताइएको छ । नेम्वाङ गत मंसिरमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा इलाम–२ बाट विजयी भएका थिए । नेम्वाङको निधनको खबरपछि एमाले नेता कार्यकर्ता र शुभेच्छुकहरु त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पुगेका छन् । यस्तै प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरु पनि अस्पताल पुगिसकेका छन् ।
विसं २०४८ देखि २०५२ सालसम्म राष्ट्रियसभा सदस्य बनेका उनी त्यसपछि पुनः राष्ट्रियसभा सदस्य भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०६५ मा इलाम २ बाट निर्वाचित उनी संविधानसभा निर्वाचन २०६४ र २०७० मा पनि इलाम २ बाट नै निर्वाचित भएका थिए । प्रतिनिधिसभा निर्वाचन २०७४ मा इलाम २ बाट निर्वाचित नेम्वाङ कानून समिति सदस्य, संसदीय दलको उपनेता र २०५६ सालमा सार्वजनिक लेखा समिति सभापति पनि भएका थिए ।
विसं २०५१ मा न्याय कानून तथा संसदीय राज्यमन्त्री भएका उनी सामान्य प्रशासनमन्त्री र स्थानीय विकासमन्त्री भए । राजनीतिमा प्रवेश गर्नुअघि नेपाल ल क्याम्पसमा प्राध्यापन र कानून व्यवसायी रहेका थिए ।
स्नातक अध्ययनका क्रममा २०२८-२०२९ सालमा अनेरास्ववियुबाट इलाम बहुमुखी क्याम्पसको स्ववियु सभापति बनेका नेम्वाङ २०२८ सालदेखि राजनीतिमा निरन्तर सक्रिय थिए।२०३३ सालमा राजकाज मुद्दामा केन्द्रीय कारागारमा थुनामा रहँदा कम्युनिष्ट पार्टी कोओर्डिनेशन केन्द्र मालेमा संगठित भएका नेम्वाङ एमालेको केन्द्रीय न्यायिक समिति सदस्य हुँदै २०७८ मा एमालेको उपाध्यक्ष बनेका हुन् ।
पञ्चायती निरङ्कुशताविरूद्धको राजनीतिक आन्दोलनका क्रममा पटक(पटक सार्वजनिक सुरक्षा अन्तर्गत नजरबन्दमा परेका नेम्वाङ प्रधानमन्त्री तुलसी गिरीको पालामा चलाइएको राजकाज मुद्दामा ७ महिना जेल परेका थिए।
नेम्वाङ विस २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष भएका थिए । हाल उनी एमाले संसदीय दलका उपनेता समेत हुन् ।













