६० किलो सुन तस्करी प्रकरणको अनुसन्धान सकेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले हङकङबाट ल्याइएको झण्डै ६० किलो सुन तस्करी प्रकरणको रायसहितको अनुसन्धान प्रतिवेदन आज जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने भएको छ । रायसहितको अनुसन्धान प्रतिवेदन लेखन कार्य सकिएकाले आज बुझाउने दिन तय गरिएको हो ।
गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले हङकङबाट ब्रेक शुमा हालेर ल्याइएको उक्त सुन सिनामङ्गलस्थित भन्सार कार्यालय अगाढीबाट बरामद गरेको थियो । सङ्गठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐन अन्तर्गत कसुरमा मुद्दा चलाउने राय दिने सिआइबीको तयारी रहेको बुझिएको छ । सङ्गठित अपराध कसुरमा म्याद थप गरिएकाले त्यसको अनुसन्धानको मिति ६० दिनको हुन्छ । यही ३१ गते ६० दिन पुग्ने भएकाले सो मिति सम्ममा मुद्दा अदालतमा पुर्याइसक्नु पर्ने हुन्छ । त्यसैले सरकारी वकिललाई तीन दिन मिसिल अध्ययनको समय पाउने गरी आज प्रतिवेदन बुझाउने मिति तय गरिएको हो ।
अहिलेसम्म प्रहरीले ३१ जनालाई पक्राउ गरेकोमा स्वास्थ्यका कारण एक जना हिरासत बाहिर रहे पनि ३० जना प्रहरी नियन्त्रणमा छन् । यो प्रकरणमा भन्सार कार्यालयका कर्मचारीसहित नेपाल, भारत र चिनियाँ नागरिक, भन्सार एजेन्ट र सुन व्यापारी समेत मुछिएका छन् ।













