साना सडक व्यवसायीको व्यवस्थापनको माग गर्दै प्रदर्शनरत ईः सहितका अभियन्ता र काठमाडौं महानगरबीचको वार्ता निष्कर्षविहीन भएको छ । तत्कालका लागि निश्चित समयका लागि व्यापार गर्न दिने गरी छलफल भएपनि एक बुँदामा नमिले पछि वार्ता निष्कर्षविहीन बनेको हो ।
फुटपाथ व्यवसायीको व्यवस्थापन गर्न माग गर्दै प्रदर्शनरत अभियन्ता ईः का प्रतिनिधि र काठमाडौं महानगरका टोलीबीच मंगलबार झण्डै साढे ५ घन्टा चलेको वार्ता सहमति नजिक पुगेर पनि भाँडिएको छ । अभियन्ता ईः ले ८ दिनदेखि राष्ट्रिय सभा गृहको गेट अगाडि निरन्तर उभिएर प्रदर्शन गरेपछि महानगरले मंगलबार वार्ता गरेको थियो । अभियन्ता ईः तर्फबाट गोविन्द नारायण नेतृत्वको टोली र काठमाडौं महानगरबाट प्रवक्ता नविन मानन्धर नेतृत्वको टोली वार्तामा बसेको थियो ।
सभागृहमा साढे ५ घन्टा चलेको वार्तामा चार बुँदे सहमतिको खाका समेत बनिसकेको थियो । तर, अन्तिममा मेयर बालेन शाहले सहमतिको चौथो बुँदामा संशोधन गरेपछि सहमति हुन सकेन ।
दुवै पक्षका वार्ता टोली सदस्यहरुका अनुसार पहिलो बुँदामा, ८ दिनदेखि राष्ट्रियसभा गृहको मुल गेटमा उभिएर प्रदर्शन गरिरहेका अभियन्ता ईः र सहभागीका अन्यको स्वास्थ्य लाभको काम गर्दै प्रदर्शन स्थगत गर्ने भनिएको थियो ।
दोस्रोमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गर्ने क्रममा जफत भएका सामग्रीहरु महानगरको स्टोरमा भएसम्म यकिन गरेर सम्बन्धित धनीलाई फिर्ता गर्ने भनिएको थियो ।
तेस्रो बुँदामा, अनौपचारिक क्षेत्रमार्फत हुने व्यापारलाई व्यवस्थित गर्न व्यापार गर्ने स्थल, समय, व्यापार गर्न आवश्यक मानिने व्यक्ति यकिन गर्न र स्थान उपलब्ध गराउन सुझाव दिने गरी एउटा अध्ययन समिति बनाउने भनिएको थियो । उक्त समितिमा महानगरले तोकेका ३ जना, ईःका तर्फबाट दुई प्रतिनिधि, भौतिक तथा यातायात मन्त्रालयका एक प्रतिनिधि, शहरी विकास मन्त्रालय र ट्राफिक प्रहरीबाट एकरएक जना प्रतिनिधि रहने भनिएको थियो ।
चौथो बुँदामा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि उपयुक्त स्थलको तत्काल पहिचान गर्न महानगरले पहल गर्ने भनिएको थियो । कोटेश्वर चोकदेखि जडिबुटी जाने बाटो, तिलगंगा अगाडि, चाबहिल मालपोत अगाडि, बालाजु क्षेत्र, भृकुटीमण्डप र सम्भावित अन्य क्षेत्रमा तत्कालका लागि व्यापार गर्न दिने गरी अध्ययन गर्ने भनिएको थियो । दशैं, तिहार र छठसम्मका लागि वैकल्पिक व्यापार गर्ने स्थल उपलब्ध गराउने सम्बन्धमा एक हप्ताभित्र स्थलगत अध्ययन, अवलोकन र पहिचान गरी व्यवसायीहरुलाई निश्चित समय र निश्चित स्थानमा व्यवसाय गर्न दिइने कुरा उल्लेख थियो ।
सहमतिको खाकामा मेयर बालेनले मस्यौदाको चौथो बुँदामा कोटेश्वर, तिलगंगा अगाडि, चाबहिल लगायतका ठाँउ तोकेर तत्कालका लागि व्यापार गर्न दिने भन्ने हटाए र साबिकमा फुटपाथ, सार्वजनिक स्थलमा व्यापार गरेका व्यवसायीहरुका लागि आजको मितिले एक हप्ताभित्र उपयुक्त स्थल पहिचान गर्न महानगरपालिकाले पहल गर्नेछ राखी संशोधन गरेका थिए। त्यसमा ईः पक्षधर सहमत नभए पछि वार्ता निष्कर्षविहीन भएको थियो ।













