वैशाख ११ गते २०८३ --:--:--
मेनु

द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरुको उद्धार गरेर स्वदेश फिर्ता

मेरो आर्थिक मेरो आर्थिक असाेज २६ गते २०८० ७:४४ AM
द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरुको उद्धार गरेर स्वदेश फिर्ता

द्वन्द्वग्रस्त इजरायलबाट नेपालीहरुको उद्धार गरेर स्वदेश ल्याइएको छ। नेपाल वायुसेवा निगम(नेपाल) एयरलाइन्सको जहाजमार्फत् २५४ जना नेपाली काठमाडौं आइपुगेका छन्।

प्यालेस्टिनी लडाकु समूह हमासले शनिबार गरेको आक्रमणमा परेर १० जना नेपाली मारिएका थिए। १ जना अझै सम्पर्कविहीन छन्। युद्धग्रस्त क्षेत्रमा फसेका नेपालीहरुको उद्धार गरी सरकारले विमान पठाएर स्वदेश ल्याएको हो। नेपाली नागरिकलाई ल्याउन परराष्ट्रमन्त्री एनपी साउद आफैं इजरायल पुगेका थिए।

इजरायलबाट उद्धार गरिएका नेपालीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आ–आफ्नो निवासतर्फ पठाइएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। उद्धार गरिएका २५४ जनालाई काठमाडौं उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न ठाउँमा पठाउन सरकारले ३ वटा बसको व्यवस्था गरेको थियो। नेपाल प्रहरीका बसमार्फत् उनीहरुलाई आ–आफ्नो घर तथा आफन्तकोमा पठाइएको हो।

इजरायलबाट नेपालीको उद्धार गरी स्वदेश फर्किएका परराष्ट्रमन्त्री साउदले इजरायलमा नेपालीको उद्धारका लागि आवश्यक परे अझै पनि जहाज जान सक्ने बताए। यद्यपि नियमित उडानबाट आउने नेपालीको टिकट खर्च पनि सरकारले बेहोर्ने मन्त्री साउदले जानकारी दिए।

इजरायलबाट उद्धार भएका विद्यार्थी सिरहाकी शोभा पासवानले बाँचेर फर्किन पाउँदा खुसी लागेको बताएकी छन् । तर, सहपाठी साथीहरू गुमाउनु पर्दा उत्तिकै नमिठो अनुभव भइरहेको पनि उनले बताइन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?