प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु भई औँसीका दिन समापन गरिने सोह्रश्राद्ध आजदेखि विधिवत् समापन गरिँदैछ ।
आज अन्तिम दिन आज औँसी श्राद्ध गर्नुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रोमा उल्लेख छ । मातामह अर्थात् मामाघरका हजुरबुबाको श्राद्ध गर्नेले भने आइतबार श्राद्ध गर्ने छन् । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्र वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथ तर्पण, सिदादान र पिण्डदान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
चाडपर्व यज्ञयागादि तथा ठूला कार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिका साथ सम्झिने वैदिक सनातन हिन्दू शास्त्रीय परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिएको हो । यस समयमा पितृले आश गरी बसेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको आफ्नो दायित्व बोध पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।













