इजरायलमा मृत्यु भएका १० मध्ये ५ जना नेपालीको शव त्यहाँस्थित नेपाली दूतावासले प्राप्त गरेको छ । आइतबार इजरायलमा रहेको नेपाली दूतावासले एक विज्ञप्ति जारी उक्त कुरा उल्लेख गरेको हो ।
जारी विज्ञप्तिमा उल्लेख भए अनुसार नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र अनिश चौधरीको शव प्राप्त भएको र ‘प्राप्त शव ढिला नगरी नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ’ भनिएको छ । थप ५ जनाको शव प्राप्त हुने क्रममा रहेको हराइरहेका नेपाली नागरिक विपीन जोशीको पनि खोजी भइरहेको दूतावासले जारी गरेको बिज्ञप्तिमा उल्लेख गरेको छ ।
त्यस्तै हमास आक्रमणमा घाइते भएका ४ जनामध्ये २ जना अस्पतालबाट डिस्चार्ज भइरहेका छन् भने दुई जना अस्पतालमै उपचाररत छन् । बाँकी दुईमध्ये एक जना नेपाल पुगिसकेका छन् र अर्का एक जना भने दूतवासको हेरचाहमा रहेका छन् । बाँकी बिद्यार्थीहरुलाई नेपाल सरकार र दुतावासको सहयोगमा नेपाल फर्काइएको छ ।













