Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

दुख्ने गिर्खा भन्दा नदुख्ने गिर्खा खतरनाकः डाक्टर रिता महासेठ

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १९ गते २०८०
दुख्ने गिर्खा भन्दा नदुख्ने गिर्खा खतरनाकः डाक्टर रिता महासेठ

पछिल्लो समय नेपालमा क्यान्सरका सबै प्रकारका उपचारहरु हुन थालेका छन् । एक दशकअघिसम्म क्यान्सर भन्ने वित्तिकै आम मानिसमा मृत्युको नजिक पुगेको आभाष हुन्थ्यो तर, चिकित्सा पद्दतिमा विकास भएका नविनतम उपचार पद्दतिका कारण क्यान्सर समयमै पत्ता लागे पूर्णरुपमा निको हुन्छ ।

नेपाल मेडिकल कलेज शिक्षण अस्पतालकी क्यान्सर विशेषज्ञ डाक्टर रिता महासेठका अनुसार जसरी हामीले चढ्ने कार, मोटरसाइकल समयसमयमा हामी सर्भिसिङ गर्ने, मेकानिकलाई देखाउने गरिरहन्छौं, त्यसरी नै हाम्रो शरीरको पनि सर्भिसिङ गर्नुपर्छ, डाक्टरलाई देखाउनु पर्छ । डाक्टरलाई देखाउन रोगै लागिहाल्नुपर्छ भन्नु हुँदैन । त्यसमाथि क्यान्सर लाग्नबाट जोगिने हो भने वर्षमा एकपल्ट होलबडी चेकअप गराउँदा राम्रो । ‘बाइक र कार भन्दा त हामीले बढी काम गरेका हुन्छाैं । बाइक र कारलाई मेकानिककाेमा लागेर बेला बेला सर्भिस गर्नुहुन्छ, आफ्नाे शरीरकाे गर्नुपर्दैन ?’ डा. महासेठकाे प्रश्न छ ।

‘शरीरमा कुनैपनि दुख्ने नदुख्ने गाँठा, कोठीहरु छन्, तिनीहरुको स्वरुप, रंग परिवर्तन भइरहेको छ भने क्यान्सर हुनसक्छ । साथै, महिलाहरुमा स्तन क्यान्सर हुने, पाठेघरको क्यान्सर हुने जोखिम अत्याधिक हुन्छ । हाम्रो खानपान, जीवनशैली र वातावरणका कारण क्यान्सर हुने हो ।’ नेपाल मेडिकल कलेज शिक्षण अस्पतालकी क्यान्सर विशेषज्ञ डाक्टर रिता महासेठ भन्छिन् ।

क्यान्सरको स्टेज ४ वटा हुन्छ । भने क्यान्सर २ प्रकारको हुन्छ । एउटा फैलने अर्को नफैलने । कुन प्रकारको क्यान्सर हो भन्ने चैं अंकोलोजी अर्थात् क्यान्सर विशेषज्ञले आवश्यक स्वास्थ्य परीक्षण गरेपछि थाहा हुन्छ । साधारणतया महिला पुरुषमा छाती तथा फोक्सोको क्यान्सर, पेट तथा आन्द्राको क्यान्सर, ब्रेन ट्युमर, घाँटीको क्यान्सर, महिलाका स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सर, ओभरीकाे क्यान्सर बढी हुन्छ । यसका अलावा छालाको क्यान्सर पनि हुने गर्दछ । ‘तेश्रो स्टेजसम्मको क्यान्सरलाई निको पार्न सकिन्छ तर, चौथो स्टेजमा पुगिसकेको छ भने त्यो शरीरमा एक ठाउँबाट अर्को ठाउँमा सरिरहेको हुन्छ त्यसलाई शरीरको अन्य भागमा फैलनबाट रोक्न सकिन्छ ।’ डा. रिता महासेठ भन्छिन् ।

क्यान्सर लागि हाल्यो भने नआत्तिन डा. महासेठको सुझाव छ । शरीरमा कुनै गाँठा देखिएमा, कोठीहरु बढेमा, महिलाको स्तनमा दुख्ने, नदुख्ने गाँठा गिर्खाहरु देखिएमा, पाठेघरमा घाउभए दुखे, लगातार धुम्रपान मद्यपान गर्नेलाई लगातार खोकी लागे, शरिरको तौल अप्रत्यासित घट्ने देखिएमा क्यान्सर भएको हुन सक्छ । ‘जतिपनि औषधी गर्दा खोकी निको नहुने, सुख्खा खोकी लगातार लाग्ने, ३, ४ महिनामै ६,७ केजी तौल घट्ने, शरीरका भागहरुमा गिर्खा, गाँठो देखिने, स्तनमा दुख्ने नदुख्ने गिर्खा देखिनु त्यसको साइज र रंग परिवर्तन हुनु, कोठीहरुको साइज बढ्ने, रंग परिवर्तन हुने, पेटको क्यान्सरमा कम्प्लिट दिसा नहुने, पाठेघरमा दुख्ने, महिनावारी सकेका महिलामा ब्लिडिङ हुने आदी क्यान्सरका लक्षण हुन् ।’ डाक्टर महासेठ भन्छिन् ।

महिलामा बढी देखिने स्तन क्यान्सरमा दुख्ने भन्दापनि नदुख्ने गाँठा र गिर्खाहरु छ भने त्यो डरलाग्दो हो । ‘गिर्खा आएपनि मलाई दुखेन म डाक्टरकोमा जान्न भन्नु गलत हो । दुखेको गिर्खा भन्दा नदुखेको गिर्खा डरलाग्दो हो ।’ हरेक अङ्गको क्यान्सरको फरकफरक प्रकार र लक्षण भएकाले कुनैपनि जोखिम उठाउन नहुने उनको सुझाब छ ।

साधारणतया क्यान्सरको उपचार तीन प्रकारले हुन्छ । पहिलो सर्जरी गरेर क्यान्सर लागेको भाग हटाउने, दोश्रो किमोथेरापी र तेश्रो रेडियोथेरापी । नेपाल मेडिकल कलेजमा क्यान्सरको सर्जरी सेवा र किमोथेरापी सेवा उपलब्ध छ । रेडियोथेरापी चाँही नेपालका केही सिमित स्वास्थ्य संस्थामा मात्र छ । तथापि, क्यान्सरमा बढी प्रयोग हुने उपचार सर्जरी र किमोथरापी हो । नेपाल मेडिकल कलेजमा डाक्टर महासेठको नेतृत्वमा अंकोलोजी विभाग नै छ । नेपाल मेडिकल कलेजमा क्यान्सरकाे स्क्रिनिङ पनि हुन्छ ।

बिरामीकाे मनाेबल, परिवारकाे सपाेर्ट र डाक्टरकाे उपचारले क्यान्सर निकाे हुने डाक्टर महासेठकाे भनाइ छ ।

Report: whiteline media

Add a new comment