फागुन १९ गते २०८२ --:--:--
मेनु

बालकुमारी घटनामा २ जनाको मृत्यु, सामाजिक सञ्जालमा चर्को आलोचना

मेरो आर्थिक मेरो आर्थिक पौष १४ गते २०८० ९:१७ AM
बालकुमारी घटनामा २ जनाको मृत्यु, सामाजिक सञ्जालमा चर्को आलोचना

बालकुमारी घटनामा २ जनाको ज्यान गएको छ । शुक्रबार भएको आन्दोलनमा परी उपचारको क्रममा २ जनाको मृत्यु भएको हो ।
ईपीएस कोरिया शाखाले उत्पादनमूलक क्षेत्रका लागि आवेदन आह्वान गरेको थियो । त्यसमा यसअघि सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएकाहरूलाई आवेदन दिन नपाउने भनिएको थियो । त्यसको विरोधमा उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।

शुक्रबार रोजगार अनुमति प्रणाली (ईपीएस) आवेदन फाराम भर्न नपाएको भन्दै युवाहरू आन्दोलनमा उत्रिएका भिए । बिहान ग्वार्कोस्थित ईपीएस कार्यालयमा युवाहरू भेला भएर आन्दोलन शुरु गरेका थिए ।

यो विषयमा उच्च अदालत पाटनमा मुद्दा समेत दायर गरिएको थियो । जसमा सुरज पाठकसहित १८ जनालाई आवेदन फाराम भर्न दिन र सबै प्रक्रियामा सहभागी गराउन अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अन्तरिम आदेश जारी भएपछि ईपीएस कोरिया शाखाले आज फाराम भर्नका लागि कार्यालयमा सम्पर्क गर्न सूचना जारी गरेको थियो । यता १८ जना बाहेकलाई पनि प्रक्रियामा सहभागी गराउनुपर्ने माग राख्दै अरु युवा पनि आन्दोलनमा उत्रिएका थिए ।

अदालतले १८ जनाको हकमा मात्रै आदेश जारी गरेको भन्दै ईपीएस कार्यालयले उनीहरूलाई मात्रै बोलाएको उनको भनाइ छ । फलस्वरुप उत्पादनमूलक क्षेत्रका लागि आवेदन दिन नपाएको भन्दै उनीहरु आन्दोलित भएका हुन् ।

सिप बिल्डिङ क्षेत्रका लागि आवेदन दिएर अनुत्तीर्ण भएका २८ हजार भन्दा बढी छन् । उनीहरूलाई उत्पादनमूलक क्षेत्रको लागि आवेदन फाराम भर्न रोक लगाइएको छ ।

यसैबीच बालकुमारी घटनाको छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक लालमणी आचार्यको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा जिल्ला प्रशासन कार्यालय, ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवार र राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक बासु सिग्देल सदस्य रहेका छन् ।

मन्त्रालयले बालकुमारीस्थित ईपीएस कार्यालयमा परीक्षा फारम भर्ने विषयलाई लिएर जम्मा भएका व्यक्तिहरुको प्रदर्शन, अवरोध, तोडफोड, आगजनी तथा आर्थिक, भौतिक एवं मानवीय क्षतिप्रति दुःख व्यक्त गरेको छ । यस अवस्थामा संयमता अपनाइ शान्ति कायम गर्न मन्त्रालयले सम्बन्धित सबैमा अनुरोध समेत गरेको छ ।

यता उक्त घटनालाई लिएर सामाजिक सञ्जालमा दुःख ब्यक्त गर्दै नेपाल प्रहरी, गृह मन्त्रालय तथा गृहमन्त्री र सरकारको चर्को आलोचना गरिएको छ । मृतक प्रति श्रद्धाञ्जली अर्पण गर्दै घटनाको टिकाटिप्पणी गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?