कुल जनसङ्ख्याको करिब २२ प्रतिशत शेयर बजारमा आबद्ध
मेरो आर्थिक
फागुन २३ गते २०८०
समयः ७:४३ am
हाल नेपालमा कुल जनसङ्ख्याको करिब २२ प्रतिशतले हितग्राही (डिम्याट) खाता खोलेको तथ्यांक केन्द्रीय निक्षेप प्रणाली (सिडिएससी)ले सार्वजनिक गरेको छ । उक्त विवरण मंगलबार (आज) बिहानसम्ममा खाता खुलेको तथ्यांक रहेको छ ।
मुलुक भित्रका २५ प्रतिशत जनता शेयर बजारमा आबद्ध हुँदै गर्दा दोस्रो बजारमा कारोबार गर्ने भने आधाले नै कम छन्। नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले उपलब्ध गराएको तथ्याङ्क अनुसार डिम्याट खाता खोल्नै सबै दोस्रो बजारमा अझै जोडिएका छैनन्।
नेप्सेका अनुसार अहिले उसको ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा १९ लाख २ हजार ७ सय ३४ लगानीकर्ता जोडिएका छन्। जुन डिम्याट खाताको तुलनामा ३०.६७ प्रतिशत मात्रै हो। अझै दोस्रो बजारमा ४२ लाख भन्दा बढी लगानीकर्ता आबद्ध हुनै बाँकी छ। जुन ६९.३२ प्रतिशत हो।
नेपालको शेयर बजारलाई औसत ५० हजार लगानीकर्ताले चलायमान गराउँदै आएका छन्। जुन निक्कै कम हो। अप्रत्याशित उतार चढावका कारण पनि दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ता नियमित हुँदैनन्।
धेरै जसो दोस्रो बजारलाई नै पेसा बनाउने भन्दै भित्रिएका लगानीकर्ता समेत निश्चित अवधिपछि दोस्रो बजारबाट पलायन हुने गरेका छन्। दोस्रो बजार घट्न थालेपछि घटेको घट्यै हुने र बढ्न थालेपछि बढेको बढ्यै हुने प्रवृत्ति नेपाली शेयर बजारमा बारम्बार दोहोरिने गर्छ। साथै किनबेच गर्ने थप औजारको कमिको कारण र माथि उल्लेखित अवस्थाको मेसो नपाउने लगानीकर्ता दोस्रो बजारमा घाटा खाएर पलायन हुने गरेका छन्।