लगानी सम्मेलन स्थलमा शेयर लगानीकर्ताद्वारा विरोध प्रदर्शनको तयारी : mero aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

लगानी सम्मेलन स्थलमा शेयर लगानीकर्ताद्वारा विरोध प्रदर्शनको तयारी

मेरो आर्थिक मेरो आर्थिक वैशाख १५ गते २०८१

स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेको भन्दै शेयर लगानीकर्ता संगठनहरुले राजधानीको भृकुटीमण्डपमा भेला भएर विरोध प्रदर्शन गरेका छन् । उनीहरूले लगानी सम्मेलनको समय भर बिरोध जारी राख्ने घोषणा समेत गरेका छन् ।

सरकारले यही बैशाख १६ र १७ गते लगानी सम्मेलनको तयारी गरिरहँदा देशको पुँजी बजार मापक नेप्से परिसूचक भने विगत साढे दुई वर्षदेखि १८ सयदेखि २२ सयकै हाराहारीमा रुमल्लिरहेको छ । यसै सन्दर्भमा सरकारले रातारात ऐन नियम संशोधन गरेर विदेशी लगानीकर्ता आकर्षित गर्न खोजे पनि स्वदेशी लगानीकर्तालाई उपेक्षा गरेपछि लगानीकर्ताहरु आन्दोलित भएका हुन् ।

लगानीकर्ताहरुले लगानीको सुरक्षा गर,नसके स्टक मार्केट बन्द गर, स्वदेशी लगानीको संरक्षण गर, विदेशी लगानीको वातावरण तयार गर, ६२ लाख लगानीकर्तालाई विदेशी पलायन गराउने काम बन्द गर, लगानी मैत्री नीति लागू, लगानीकर्ता मारा मौद्रिक नीति र लगानी क्याप खारेज गर, नियामक निकायमा योग्य मान्छे अविलम्ब नियुक्त गर र पुँजी बजारमाथिको नांगो हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।

सम्पूर्ण लगानीकर्ता संगठनहरुको ऐक्यबद्धता रहेको विरोध प्रदर्शन कार्यक्रममा करिब डेढ सय लगानीकर्ताको उपस्थिति थियो । लगानीकर्ताहरुले माग सम्बोधन नभएससम्म विरोध कार्यक्रम जारी रहने बताएका छन् । उनीले लगानी सम्मेलन स्थल मै गएर साकेतिक प्रर्दशन गर्नेसम्मको तयारी गरेका छन् ।