नेप्से परिसूचक ७०.८१ अंकको वृद्धि, कारोबार रकममा नयाँ रेकर्ड
मेरो आर्थिक
श्रावण २८ गते २०८१
समयः ५:३९ pm
आज पनि नेपाल स्टक एक्सचेञ्च (नेप्से)मा दोहोरो अंकको बृद्धि आएको छ । आज नेप्से परिसूचक २.४७ प्रतिशत अर्थात ७०.८१ अंकले बढेर २ हजार ९३१.६५ विन्दुमा पुगेको छ ।
यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.१० प्रतिशतले बढेर ५१२.४७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३९ वटा स्क्रिप्टको ६ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर २७ अर्ब २४ करोड २० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
सेयर बजारमा एकैदिन २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ। यो हालसम्म कै ऐतिहासिक उच्च कारोबार हो । आइतबार पनि नेप्सेमा एकैदिन २५ अर्ब ७७ करोड रूपैयाँको कारोबार भएर रेकर्ड बनेको थियो।
यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये २ वटा बाहेक अन्य सबैमा हरियाली छायो । आज जीवन बीमा समूहमा सर्वाधिक उछाल आयो । यो समूह आज ५.८५ प्रतिशतले बढेर १४ हजार ७५९.१५ विन्दुमा पुग्यो ।
यस्तै आज बैंकिङ समूह २.९५ प्रतिशत,विकास बैंक ३ प्रतिशत,वित्त ४.८१,होटल २.९४,हाईड्रो ३.४३,लघुवित्त १.०८,म्युचुअल फण्ड ०.९३, निर्जीवन बीमा २.९७,अन्य १ र व्यापार समूह ४.१३ प्रतिशतले बढ्यो । यस्तै आज लगानी समूह ०.१९ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह १.१९ प्रतिशतले घट्यो ।
कारोबार रकमका आधारमा यस दिन हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन १ अर्ब २२ करोड ८० लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन शिवम् सिमेन्टको ९२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ भने नेपाल फाइनान्सको कारोबार रकम ८४ करोड नाघेको छ।