अमेरिकामा हराएकी ममतालाई घरभित्रै हत्या गरेको प्रहरीको अनुमान
मेरो आर्थिक
भाद्र ८ गते २०८१
समयः ६:३३ am
मेरो आर्थिक ८ भदौ, काठमाडौं । अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । श्रीमान नरेश भट्टले घरमै हत्या गरेको संकेत दिने केही प्रमाण भेटिएको प्रहरीको दावी छ ।
भर्जिनियाको मानसस पार्कबाट जुलाई ३१ देखि हराएकी ममतालाई श्रीमानले नै हत्या गरेको भन्दै प्रहरीले सरकारी वकिलको कार्यालयमा केही प्रमाण बुझाएको हो । प्रहरीले ब्लुस्टार प्रविधिको प्रयोग गर्दा घरको बेडरुम र अन्य विभिन्न स्थानमा रगतका टाटा भेटिएका छन् । अनुसन्धानका क्रममा एक स्थानमा रगतको आहाल समेत रहेको र पछि सफा गरेको पाइएको छ ।ओछ्यान र कार्पेटमा गुलाबी दागहरु देखिएपछि अनुसन्धान गर्दा ति रगतको टाटा भएको पाइएको पनि प्रहरीले उल्लेख गरेको छ । प्रहरीका अनुसार भट्टले ममतालाई मास्टर बेडरुममै चक्कु प्रहार गरी हत्या गरेको अनुमान छ ।
जुलाई ३० मा भट्टले स्थानीय वालमार्टबाट ३ वटा चक्कु र सरसफाइका सामान किनेका थिए । ति मध्ये दुईवटा चक्कु प्रहरीले घरमा फेला नपरेको जनाएको छ । बाथटबमा पनि रगत भेटिएको छ । तर, नरेशले ममताको हत्यापछि शव कहाँ लुकाएका छन् भन्ने अझै पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ । सरकारी वकिलको कार्यालयमा नरेशको प्रारम्भिक बयान भएको छ । प्रहरीले नरेशले तत्काल घर बिक्री गर्न दुईजनासँग कुरा अघि बढाएको समेत पत्ता लगाएको छ ।
बिहीबार स्थानीय प्रहरीले घरमा खानतलासी गरेपछि नरेशलाई पक्राउ गरेको थियो । ममता हराएको रिपोर्ट श्रीमान नरेशले अगष्ट ६ तारिखमा मात्रै गरेका थिए । उनीसँग साथीहरुले अन्तिम पटक २८ जुलाईमा कुरा गरेका थिए भने श्रीमान्ले ३१ जुलाईमा अन्तिम पटक देखेको बताएका छन् । श्रीमान्ले तीन दिनपछि मात्र प्रहरी कहाँ उनी बेपत्ता भएको खबर गरेका थिए । काभ्रेको पनौतीकी २८ वर्षीया ममता काफ्ले अमेरिकाको भर्जिनियामा नर्सको रूपमा काम गर्थिन् ।
युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा उनको ड्युटी थियो । नियमित अस्पतालमा हाजिर भएर काम गर्ने उनी विना जानकारी आउन छाडिन् । साउन १२ पछि उनी त्यहाँ हाजिर भइनन् । एक वर्षीया छोरीकी आमा समेत रहेकी उनी त्यहाँको सेनामा कार्यरत उनका श्रीमान सहित बस्दै आएकी थिइन् । लामो समयससम्म काममा नआएपछि सहकर्मीले प्रहरीलाई खबर गरे । त्यसपछि खोजी भयो । प्रहरीमा समेत उनी हराएको कुरा रिर्पोट थिएन । उनी बेपत्ता भएको तीन साता पुगिसकेको छ । हाल १ वर्षीया छोरीलाई समाज सेवा विभागको संरक्षणमा राखिएको छ ।