काठमाडौँ । रूपन्देहीको प्रतिनिधि सभा सदस्य क्षेत्र नम्बर ३ कार्तिक १७ गते हुने उपनिर्वाचनका लागि असार २९ गतेदेखि मतदाता नामावलीलाई अद्यावधिक गर्ने निर्णय भएको छ ।
मतदाता नामावली अद्यावधिक गर्ने सन्दर्भमा कार्तिक १६ गतेसम्म १८ वर्ष उमेर पूरा हुने मितिलाई निर्दिष्ट मिति निर्धारण गरी असार १६ गतेसम्म देशभरबाट सङ्कलित मतदाताको विवरणलाई अद्यावधिक प्रक्रियामा लगिने आयोगले जनाएको छ ।
अद्यावधिक कार्यक्रम अन्तर्गत सङ्कलित मतदाताको विवरण साउन १४ गते आयोगले प्रकाशन गरिनेछ ।
त्यस्तै साउन १५ गते देखि सुन २२ गते गतेसम्म मतदाताले नामावलीमा रहेको त्रुटि सच्याउन निवेदन दिने, कसैले झुट्टा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको विरोधमा उजुरी दिने, कुनै मतदाताको नाम एकभन्दा बढी स्थानमा समावेश भएकोमा एक स्थानमा मात्र कायम गर्न निवेदन दिने, मृत्यु भएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनको लागि सूचना दिने लगायतका कार्यहरु गर्ने गरी कार्यक्रम निर्धारण गरिएको छ ।
यसरी मतदाता नामावली अद्यावधिक प्रक्रिया पूरा गरी भदौ २५ गते अन्तिम मतदाता नामावली प्रकाशित हुने आयोगले जनाएको छ ।
मतदाता नामावली अद्यावधिक कार्यक्रम अन्तर्गत मतदाता नामावलीलाई त्रुटिरहित र थप शुद्ध तुल्याउन आम मतदाता तथा सबै सरोकारवालाहरूको सहभागिता अपरिहार्य रहेकोले साउन १५ गतेदेखि २२ गतेसम्म त्रुटि सच्याउन निवेदन दिने लगायतका तोकिएका कार्यहरूमा अनलाइन प्रणाली समेतबाट निवेदन, सूचना, उजुरी दिन सकिने व्यहोरा सरोकारवालाहरू सबैमा जानकारी गराएको छ ।













