काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जवाफ दिदै कीर्तिपुरको मैदानमा फ्लडलाइट र प्यारापिट हेर्न जान आग्रह गरेका छन् । सामाजिक सञ्जालमा जवाफ दिदै प्रधानमन्त्री ओलीले प्रचण्डलाई किर्तिपुरमा बनिरहेको प्यारापिट र जडान हुँदै गरेको फ्लडलाइटका पोल हेर्न जान आग्रह गरेका हुन् । साथै ओलीले प्रचण्डलाई तपाईंले जर्जर छोडेको अर्थतन्त्र अहिले कहाँ पुग्यो भन्दै तथ्याङ्क हेर्न सुझाव दिएका छन् । यस अघि आजै प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले टियु क्रिकेट मैदानको फ्लडलाइट र प्यारापिट कहाँ छ भन्दै प्रधानमन्त्री ओलीलाई प्रश्न गरेका थिए ।
२- जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाभर छाउगोठ भत्काउन निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले सोमबार जिल्लाका सबै ९ स्थानीय तहलाई पत्र पठाउँदै परम्परागत रूपमा जरा गाडेर बसेको छाउपडीजस्तो सामाजिक कुप्रथा अन्त्य गर्न अभियान सञ्चालन गर्न निर्देशन दिएका हुन् । जिल्ला समन्वय समितिको कार्यालय कञ्चनपुरलाई समेत बोधार्थ दिइएको पत्रमा समाजमा अझै गहिरो गरी जरा गाडेर बसेको छाउपडी प्रथालाई विधिवत् अन्त्य गर्ने अभियानमा सबै तहको समन्वय आवश्यक भएको उल्लेख गरिएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर १ निगाली टोलमा २८ वर्षीया कमला आउजी दमाईको सर्प दंशबाट छाउगोठमा मृत्यु भएको घटनापछि जिल्ला प्रशासन कार्यालयले यस्तो निर्देशन दिएको हो ।
३- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रमाथि सरकारको कार्यशैलीबाटै सबैभन्दा ठुलो खतरा रहेको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले गणतन्त्रको भविष्यमाथि खतरा सरकारको कार्यशैलीबाट रहेको टिप्पणी गरेका हुन् । उनले भने- ‘यदि गणतन्त्रमाथि कतैबाट खतरा छ भने त्यो राजावादी या अन्य कसैबाट होइन, सरकारकै कार्यशैलीबाट हो ।’
४- नेपाल शिक्षक महासंघले साउन २ गतेसम्म विद्यालय शिक्षा विधेयक पास नभए आन्दोलनमा जाने चेतावनी दिएको छ । महासंघले साउन २ गतेसम्म पर्खिने र त्यतिबेलासम्म पनि पास नभए पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गर्ने जनाएको छ । महासंघले अहिले विद्यालय, विद्यार्थी, शिक्षक-कर्मचारी मैत्री अग्रगामी शिक्षा ऐन जारी हुने सम्भावना क्रमशः कमजोर हुँदै गएको उल्लेख गरेको जनाएको छ । साथै महासंघले सरकारले आफूसँग भएका विगतका सहमतिहरूलाई बेवास्ता गरी विद्यालय शिक्षा विधेयकमा शिक्षक-कर्मचारीमैत्री प्रावधानहरू समावेश गर्न नचाहेको आरोप लगाएको छ ।
५- नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले सत्तारूढ नेपाली कांग्रेसले जनताले दिएको मतलाई जनताको पक्षमा काम गर्ने गरी सदुपयोग गर्न नसकेको आलोचना गर्दै लोकतान्त्रिक मूल्य र अभ्यासलाई कमजोर पार्ने दिशामा सरकारको कदममा साछि बन्न पुगेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रचण्डले कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको टिप्पणी गरेका हुन् । प्रचण्डले भने- ‘संसद्को सबैभन्दा ठूलो दल हो कांग्रेस। एकपछि अर्को स्वेच्छारिताका श्रृंखलाहरु जसरी अगाडि बढाइएका छन्, जसरी अहंकार र प्रतिशोधपूर्ण व्यवहार हाबी हुँदै गएको छ, यसबाट नेपाली कांग्रेस पनि स्वर्ग र नर्ककै गोलचक्करको पासोमा परेको र आफूलाई त्यसमै समर्पण गरेको देखिएको छ ।’
६- राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका तीन विधेयक संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यलयले जनाएको छ । प्रमाणीकरण भएका विधेयकमा आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक रहेका छन् ।
७- मध्यपश्चिम विश्वविद्यालयको आज सम्पन्न १७ औँ सभा बैठकले आगामी आर्थिक वर्षका लागि रु एक अर्ब ३६ करोड ७७ लाख २१ हजार बजेट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा भएको बैठकमा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाकर कँडेलद्वारा प्रस्तुत पुँजीगततर्फ ४६ करोड २५ लाख र सञ्चालनतर्फ ९० करोड ५२ लाख २१ हजारसहितको बजेट तथा कार्यक्रम स्वीकृत भएको हो ।
८- राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको सुशासन आयोग कहाँ छ ? भन्दै प्रश्न गरेका छन् । प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष लिङदेनले सरकारको सुशासन आयोगलाई जनताले खोजिरहेको भन्दै अडियो सार्बजनिक भएपछि मन्त्रीको राजीनामा किन नआएको भन्दै प्रश्न गरेका छन् । उनले राजावादीलाई तह लगायौं भनेर डंका पिटेको जनतालाई लुट्नलाई भएको भन्दै ठुला दल मिलेर सरकार चलाउने र जनता लुट्ने कुरा सही नहुने बताए । उनले संसदबाट भिजिट भिसा प्रकरणमा आफुहरुले विरोध गरिरहेको र यसलाई गलत अर्थ नलगाउन समेत आग्रह गरे ।
९- प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको विस्तारित सेवा भवनको आज उद्घाटन गरेकाछन् । भाटभटेनी सुपर मार्केटको सहयोगमा निर्मित सो भवन शिक्षण अस्पतालको ४३ औं वर्ष प्रवेशका अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले सो भवनको उद्घाटन गरेका हुन् ।
१०- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद अशोक चौधरी र राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले सामान्य प्रशासन मन्त्रीको अडियो प्रकरणले सरकार उदांगो भएको बताए । उनीहरुले मन्त्री गुप्तामाथि किन छानबिन नगरेको भन्दै सरकारलाई प्रश्न समेत गरेका छन् ।
११- सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफूमाथि लगाइएका सम्पूर्ण आरोपहरू निराधार भएको बताएका छन् । केही दिनयता विभिन्न सञ्चारमाध्यमहरूमा आइरहेका समाचार र त्यसमा समावेश तथ्यहरूप्रति आपत्ति जनाउँदै ती आरोपहरूको परीक्षणसहित पुष्टि गर्न चुनौतीसमेत दिएका हुन् । आफूविरुद्ध हाल सञ्चारमाध्यमहरूमा आइरहेका समाचारहरू प्रायोजित र निराधार रहेको दाबी गर्दै मन्त्री गुप्ताले सरुवा र नियुक्तिजस्ता कार्यमा कहीँकतै घुस डिल नगरेको स्पष्ट गरेका छन् । उनले भनेका छन्- ‘यो विषय मेरा लागि अत्यन्त संवेदनशील छ, ममाथि प्रश्न उठाएपछि अब यस्ता आरोपहरू पुष्टि गर्न मिडिया स्वयंले पनि प्रमाण खोज्नुपर्छ । प्रतिष्ठा हरण र निराधार आरोपको पुष्टि हुने आधार मिडियाले खोजौँ ।’
१२- गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधीमण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन दिएका छन् । मन्त्री लेखकले सोमबार बिहान स्पेन भ्रमणबारे छानबिन गर्न गृह सचिब गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक दीपक थापालाई निर्देशन दिएका हुन् । गृहमन्त्री लेखकले निर्देशन दिदै भने- ‘प्रधानमन्त्री ज्यूको प्रतिनिधी मण्डल बाहेक स्पेन को को गए ? कुन विधिप्रक्रिया र कुन संस्थामार्फत स्पेन भ्रमण गए भन्ने विषय छानविन गर्न निर्देश गरेको छु । जानका लागि भिजिट भिषाको प्रवन्ध कस्ले गर्यो ? लगायतका विषयमा अनुसन्धान हुनेछ ।’
१३-मधेश प्रदेशको वीरगञ्जस्थित संघीय नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपनको उपचार सेवा शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले क्यान्सरको उपचार सेवा प्रदेश तहमा विस्तार गर्ने प्रतिबद्धता जनाएअनुसार मधेश प्रदेशका महिलालक्षित स्तन क्यान्सर परीक्षणका लागि मेमोग्राम सेवा थालिएको हो । साथै, निःसन्तान दम्पत्तीलक्षित बाँझोपनको उपचार समेत अस्पतालमा शुरु भएको छ । दुवै सेवाको मन्त्री पौडेलले आइतबार शुभारम्भ गरेका हुन् ।
१४- नेप्से परिसूचकमा आज गिरावट आएको छ । आज नेप्से ३५.०९ अंकले घटेर २७२५. ७१ विन्दुमा कायम भएको छ । आजको कारोबारमा विभिन्न ३२१ कम्पनीका २ करोड ११ लाख २ हजार ५४० कित्ता शेयर ८ अर्ब १७ करोड २१ लाख ४३ हजार ३२६ मा किनबेच भएको नेप्सेले जनाएको छ ।
१५- नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मूल्य तोला ४ सयले बढेर तोलाको एक लाख ९३ हजार ३०० मा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको एक लाख ९२ हजार ९०० मा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको २३१५ रुपैयाँमा कारोबार भइरहेको छ ।
१६- भारतका तीव्र गतिका बलर मोहम्मद सिराजलाई म्याच फिसको १५ प्रतिशत जरिवाना गरिएको छ । म्याच फिस बाहेक, उनलाई एक डिमेरिट पोइन्ट पनि दिइएको छ । लर्ड्समा जारी इङल्याण्डविरुद्धको तेस्रो टेस्टको चौथो दिन बेन डकेटलाई आउट गरेपछि सिराज आक्रामक रूपमा सेलिब्रेसन गरेकोप्रति आइसीसीले आचारसंहिताको लेभल-१ उल्लङ्घन गरेको भन्दै कारवाही गरेको हो ।
१७- चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा पिएसजीलाई ३-० गोल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि जितेको हो । चेल्सीको जितमा कोल पलामरले २ गोल गरे भने जोआओ पेड्रोले एक गोल गरेका थिए । चेल्सीले तिनै गोल खेलको पहिलो हाफमा गरेको थियो । यस खेलमा खेलको ८५औं मिनेटमा पिएसजीका जोआओ नेभेजले रातो कार्ड पाएका थिए । चेल्सीका कोल पाल्मरले प्रतियोगितामा चार गोल एक गोल असिस्ट गरे बापत गोल्डेन बुट प्राप्त गरेका छन् । विजेता चेल्सीलाई अमेरिकन राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्रफी प्रदान गरेका थिए ।
१८- विश्व नम्बर १ जानिक सिनरले विम्बल्डन पुरुष एकल उपाधि जितेका छन् । सिनरले पहिलो पटक यो उपाधि जितेका हुन् । उनी विम्बल्डन च्याम्पियनसिपको पुरुष एकल उपाधि जित्ने पहिलो इटालियन खेलाडी बनेका छन् । इटालीका सिनरले आइतबार राति लन्डनको अल इङल्याण्ड क्लबको सेन्टर कोर्टमा ३ घण्टा ४ मिनेटसम्म चलेको फाइनल खेलमा स्पेनका कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४, ६-४ ले पराजित गरेका हुन् ।
१९- बंगलादेशको अन्तरिम सरकारका प्रमुख प्रोफेसर मुहम्मद युनुसले भारतलाई एक हजार किलो ‘हरिभंगा’ प्रजातिको आँप पठाएका छन् । यी आँपहरू प्रधानमन्त्री मोदी, भारतीय कूटनीतिज्ञ र अन्य अधिकारीहरूलाई उपहार दिइनेछ । भारतसँग सम्बन्ध सुधार गर्ने प्रयासमा बंगलादेशको यो पहललाई ‘आँप कूटनीति’ भनिएको छ । यस अन्तर्गत, अन्तरिम सरकारले केन्द्र सरकारलाई मात्र नभई पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जी र त्रिपुराका मुख्यमन्त्री माणिक साहालाई पनि हरिभंगा आँप पठाएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यी आँपहरू ६० वटा बक्समा प्याक गरेर अखौरा भूमि बन्दरगाहबाट पठाइएको बताइएको छ । ‘हरिभंगा’ बंगलादेशमा एक प्रिमियम आँप मानिन्छ । यसको गुणस्तर धेरै राम्रो मानिन्छ। यो भारतमा धेरै मन पराइन्छ ।
२०- फिल्म ‘अभिमन्यु : च्याप्टर–१’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज सार्वजनिक गरेको पोस्टरमा कामेश्वर चौरासियालाई देख्न सकिन्छ । पोस्टरमा उनी खुसीले कराइरहेको जस्तो देखिन्छ । उनको तलतिर विराटनगर कारगार छ । कारागारलाई गरिएको तारबारभन्दा माथि उनी चिच्याइरहेका छन् । अगाडि खैरो रङको मनी ब्याग छ । कारागारको छेउ, अगाडि मनीब्याग अनि कामेश्वरको एक्सप्रेसनले उनी कि फिरौती रकम तिर्दैछन् कि फिरौती उठाउँदैछन् भन्ने अनुमान लगाउन सकिन्छ । तर, शान्त कलर अथाव निलो रङले पनि फेरि यसमा कन्ट्रयाडिक्सन थपेको छ । जे होसु पोस्टरले कौतुहल पैदा गरेको छ । ‘अभिमन्यु : च्याप्टर–१’ भदौ २७ गते रिलिज हुँदै छ । यसको हिन्दी भर्सन भने असोज ६ अर्थात् (सेप्टेम्बर २२) मा रिलिज हुँदैछ ।













