वैशाख १३ गते २०८३ --:--:--
मेनु

मेची राजमार्ग अन्तर्गत इलाम–राजदुवाली सडक तत्काल सञ्चालनमा नआउने

मेरो आर्थिक मेरो आर्थिक असाेज २७ गते २०८२ ६:५१ AM
मेची राजमार्ग अन्तर्गत इलाम–राजदुवाली सडक तत्काल सञ्चालनमा नआउने

२७ असोज, इलाम । कृष्ण प्र. पौडेल । गत असोज १८ गतेको अविरल वर्षापछि आएको पहिरोले अवरुद्ध भएको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडकखण्ड तत्काल सञ्चालनमा ल्याउन नसकिने भएको छ। जटिल भू–संरचना र निरन्तर सडक भासिने समस्याका कारण यातायात पुनःसञ्चालन असम्भव भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।

उनका अनुसार पहिरो पन्छ्याउने कार्य निरन्तर भइरहेको भए पनि माटो अस्थिर रहेकाले जोखिम बढेको छ। “सडक खुलाउने प्रयास जारी छ, तर भू–संरचनाको जटिलताले तत्काल सञ्चालन सम्भव छैन,” उनले भनिन्।

सडक अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङतर्फ आवागमन ठप्प छ। वैकल्पिक मार्गको रूपमा तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्ग हुँदै आइतबारदेखि साना सवारी सञ्चालन गरिएको छ भने सोमबारदेखि तिल्केनी–सिमलगोलाई मार्ग सञ्चालनको तयारी भइरहेको प्रजिअ नेपालले जानकारी दिइन्।

जोगमाई खोलामा ह्युमपाइप राखी अस्थायी डाइभर्सन निर्माण कार्य सुरु गरिएको र सम्भव भएसँगै साना सवारी सञ्चालन हुने उनले बताइन्। तर तीव्र मोड र साँघुरोपनाका कारण ठूला तथा मालवाहक सवारी सञ्चालनका लागि वैकल्पिक मार्ग उपयुक्त नभएको प्रजिअ नेपालको भनाइ छ।

यसबीच, सडक डिभिजन कार्यालय इलामले राजदुवाली सडकखण्ड पुनःनिर्माण कार्य अस्थायी रूपमा स्थगन गरेको छ। भू–संरचनागत चुनौतीका कारण जनशक्ति र स्रोतसाधन वैकल्पिक मार्गमा केन्द्रित गर्नुपरेको डिभिजनका सूचना अधिकारी इञ्जिनियर अर्जुन घिमिरेले जानकारी दिए।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?