वैशाख १२ गते २०८३ --:--:--
मेनु

इलाम र झापामा भेटियो अत्याधुनिक हतियार, अनुसन्धान जारी

मेरो आर्थिक मेरो आर्थिक मंसिर १० गते २०८२ ७:०७ AM
इलाम र झापामा भेटियो अत्याधुनिक हतियार, अनुसन्धान जारी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भदौ २४ गते काठमाडौं महानगरीय प्रहरी कार्यालय, रानीपोखरीबाट लुटिएको हतियारसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्ने दुई जना झापा र एक जना इलामका रहेका छन्। लागूऔषध कारोबारीको गिरोह खोजी गर्ने क्रममा प्रहरीले उनीहरूलाई २ थान चाइनिज पेस्तोल (टाइप–५४) र २० राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, सर्वप्रथम दमक नगरपालिका–८ का २५ वर्षीय सरोज पुरी पक्राउ परेका थिए। जेनजी आन्दोलनका बेला काठमाडौं पुगेका पुरीको कोठाबाट लुटिएको पेस्तोल, म्याग्जिन सहित १५ राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ।

सोधपुछका क्रममा पुरीले एक थान पेस्तोल दमक–६ प्रशान्ती टोलका २९ वर्षीय विश्व लिङ्देनलाई दिएको खुलाएका थिए। विश्व लिङ्देन नेपाली कांग्रेसका नेता तथा पूर्व संविधानसभा सदस्य विश्वदीप लिङ्देनका छोरा हुन्। विश्वदीप लिङ्देन २०६४ सालको संविधानसभा चुनावमा माओवादी केन्द्रबाट उम्मेदवार बनेर तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पराजित गरेका थिए।

पुरीको बयानका आधारमा प्रहरीले विश्व लिङ्देनलाई घरमै पुगेर नियन्त्रणमा लियो। सोधपुछमा उनले आफूसँगको हतियार इलामका साथीलाई बेचेको बताएका थिए। त्यसपछि प्रहरी टोली सोमबार इलामको चुलाचुली गाउँपालिका–४, आइतबारे पुग्यो।

त्यहाँ ३० वर्षीय पवन हाङसुङ्वालाई सोधपुछ गर्दा उनले पेस्तोल २० हजार रुपैयाँमा किनेको र बारीमा लुकाएको बताए। उत्खनन गर्दा रातो प्लास्टिकको झोलामा बेरेर राखिएको, ५ राउण्ड गोली लोड गरिएको चाइनिज टाइप–५४ पेस्तोल फेला परेको प्रहरी स्रोत बताउँछ। माटोमा गाडिएको कारण पेस्तोलमा खिया लागेको अवस्थामै भेटिएको थियो।

प्रारम्भिक अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार, “विश्वले सुरुमा २० हजारमा बेचेको भने, पछि फेरि राख्न दिएको पनि भन्यो। लागूऔषध कारोबारी खोज्ने क्रममा हतियार फेला परेको हो। तीनै जना लागुऔषध दुरुपयोगकर्ताको जस्तो देखिन्छन्। रानीपोखरी प्रहरीले थप अनुसन्धान गर्नेछ।”

बरामद दुवै पेस्तोल, २० राउण्ड गोली र पक्राउ परेका तीनै जनालाई आवश्यक कारबाहीका लागि काठमाडौं पठाइएका छन्। यसबारे जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र खड्काले जानकारी दिएका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?