सिन्धुपाल्चोक । बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चाईनिज किराना सामानसहित सशस्त्र प्रहरी बलले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–४ स्थित बाह्रबिसे बजारबाट एक जनालाई नियन्त्रणमा लिएको छ ।
सोही जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो ।
तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर गाडी राखी ल्याउँदै गरेको सामानको बिजलविजक तथा भन्सार प्रज्ञापन पत्र समेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई समेत नियन्त्रणमा लिईएको हो ।
नियन्त्रणमा लिईएका सामानहरु स्टेशनरी, खेलकुद तथा किराना लगायतका सामान रहेका छन् । बरामद सामानको अन्दाजी मुल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको १५ लाख मुल्यसहित जम्मा मुल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ ।
नियन्त्रणमा लिईएका तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको छ ।













