काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्याँसको अभाव नरहेको स्पष्ट गरेको छ ।
निगमले सोमबार एक विज्ञप्ति जारी गर्दै विगत केही दिनदेखि काठमाडौँ उपत्यकामा एलपि ग्यासको अभाव भएको भन्दै समाचार तथा जनगुनासोको बिषयमा निगमको गम्भिर ध्यानाकर्षण भएको जनाउदै निगमसम्म जाडोयाम भारीलाई पुग्ने पर्याप्त ग्याँस रहेको जानकारी दिएको हो ।
निगमले भनेको छ- ‘इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट ग्यास आयातको लागी देशैभरिका उद्योगीहरुलाई निगमले मासिक रुपमा उपलब्ध गराउने एलोकेसनको परिमाण ४९,५०० मे.टन रहेकोमा नोभेम्बर २०२५ मा ४७,२६४ मे.टन, डिसेम्बर २०२५ मा ४८,५३१ मे.टन र जनवरी २०२६ मा ४७,३०४ मे.टन ग्यास सम्बन्धित उद्योगहरुले आयात गरि आम उपभोक्ता माझ विक्री वितरण गरेको व्यहोरा अनुरोध छ । उपरोक्त परिमाण ग्यासको जाडोयामको माग धान्न पुग्ने परिमाण भएको व्यहोरा समेत अनुरोध छ ।’
निगमले हाल बजारमा केहि एकाध उद्योगको ग्यास सिलिण्डर अभाव देखिएकोले ति उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यकरण गर्न निर्देशन दिई सकिएको बताउदै केही समय भित्रै सामान्यकरण हुने समेत बताएको छ । निगमले बजारमा एलपीजीको हालको अवस्था तथा आसन्न निर्वाचनलाई समेत मध्येनजर गरी निगमले फ्रेबुअरी २०२६ का लागी साविकको परिमाणमा २,००० मे.टन थप गरी इण्डियन आयलका विभिन्न रिफाइनरी तथा बोटलिङ्ग प्लान्टबाट आयात गर्न बोटलर्स वाइज एलोकेसन पठाईसकेको समेत जनाएको छ ।
साथै निगमले आम उपभोक्तालाई आवश्यकता अनुसार मात्र ग्यासको खरिद गर्न एवं ग्यासको अनावश्यक भण्डारण नगर्न समेत अपिल गरेको छ ।













