काठमाडौँ । कास्कीमा गैरकानुनी रूपमा चन्दा संकलन गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माछापुच्छ्रे गाउँपालिका–२ का ३७ वर्षीय भीमसेन परियार र तनहुँ व्यास नगरपालिका–१३ छाब्दीका ३२ वर्षीय लक्ष्मण पाण्डे (अग्नी) रहेका छन्।
प्रहरीका अनुसार आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई प्रभावित पार्ने उद्देश्यले उनीहरूले कास्की जिल्लाका विभिन्न स्थानमा आफूलाई माओवादी कार्यकर्ता बताउँदै सर्वसाधारणलाई डरधम्की दिई चन्दा असुली गरेको सूचनाको आधारमा पक्राउ गरिएको हो ।
नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका दुवै जनाविरुद्ध चन्दा सम्बन्धी कसूरमा जिल्ला अदालत कास्कीबाट पाँच दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।












