काठमाडौं । निर्वाचन हुने दिन भोलि देशभर उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहने भएको छ । बुधबार मौसम पूर्वानुमान महाशाखाले निर्वाचन विशेष मौसम बुलेटिन-२ जारी गरेर मौसम प्रणालीको प्रभाव रहने नदेखिएको जनाएको हो ।
महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । त्यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
महाशाखाले बुलेटिनमा उल्लेख गरे अनुसार हालसम्मको मौसम मोडलबाट प्राप्त मौसमी तथ्यांकहरुको विश्लेषणका आधारमा निर्वाचनको समय फागुन २० देखि फागुन २२ गतेसम्म उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहने देखिएको छैन ।












