तामाकोशी गाउँपालिका–४ स्थित मालुम मतदान केन्द्रमा निर्वाचन हुन नसकेपछि मतदान स्थगित गरिएको छ ।
दोलखाको स्थानीय प्रशासनका अनुसार मतदान सुरु गर्ने तयारी भइरहेका बेला मतपत्र नै लुटिएपछि तानवग्रस्त अवस्था बनेको थियो । तनावका क्रममा एक राउण्ड हवाई फायर भएपछि मतदाता फर्किएका थिए ।
प्रशासनले मतपत्र लुट्नेहरुको पहिचान गरेको र मुद्दा चलाउने तयारी गरिएको बताएको छ । प्रशासनले ५५ मतपत्र लुटिएकोमा ४४ वटा भेटिएको बताएको छ ।
यसैबीच, मतदानका लागि माइकिङ गरेर मतदातालाई बोलाइए पनि मतदाता उपस्थित नभएपछि निर्वाचन स्थगित गरिएको हो । अब सो केन्द्रमा निर्वाचन अर्को मितिमा पुनः गरिने बताइएको छ । यसको औपचारिक जानकारी आउन भने बाँकी रहेको छ ।












