काठमाडौँ । जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) को जात्रा सञ्चालनका लागि काठमाडौँ महानगरले तयारी बैठक गरेको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको वैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक कामको समन्वय र सहजीकरण, सरसफाइ, शान्ति सुरक्षा, जात्राको गरिमा प्रवर्धन लगायत विषयमा छलफल भएको थियो । यो जात्रा महानगरपालिकाका ९ वटा वडाहरु (१, १९, २०, २१, २३, २४, २५, २७ र २८) मा सञ्चालन हुन्छ ।
छलफलमा कार्यवाहक प्रमुख डंगोलले, जात्रा सञ्चालनका लागि महानगरपालिकाले दिँदै आएको सहयोग रकम १० लाख रुपियाँबाट २० लाख रुपियाँ पुर्याइएको बताउँदै यसबाट जात्राको भव्यता र श्रद्धालुहरुको सहजतामा सहयोग पुग्ने बताइन् ।
गुठी संस्थानका प्रशासक शैलेश कुँवरले समयमा रथ यात्रा प्रारम्भ गरेर तालिका व्यवस्थापनमा प्रयास गर्ने बताए । सेतो मच्छिन्द्रनाथका मूल पुजारी एवं महानगरपालिकाका पूर्व वडाध्यक्ष नीलकाजी शाक्यले भने- ‘यसको सन्देश विश्वलाई बुझाउनु पर्नेछ । यसलाई अपनत्व गराउने गरी समन्वय गरौँ ।’
जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव वज्राचार्यका अनुसार यस वर्ष यस बर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु हुनेछ । सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बिशेष श्रृङ्गार गरेर जमलस्थित तीनधारा पाठशाला अघिल्तिर निर्माण गरिएको रथमा लगेर प्रतिस्थापन गरिन्छ । यसपछि रथ तानेर पहिलो दिन रत्नपार्क, भोटाहिटी हुँदैअसनसम्म पुर्याइन्छ ।
त्यसै दिन राती १० बजे राष्ट्रपति दर्शनका लागि असन आउने कार्यक्रम छ ।
१३ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्याइनेछ । १४ साँझ ५ बजे हनुमानढोकाबाट हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पुर्याइन्छ । १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्याइन्छ ।
हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् ।
प्राचीन कालमा काठमाडौँको जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएको कथा यो रथयात्रासँग सम्बन्धित छ । मूर्तिलाई खेतबाट निकाली घरको भकारीमा राख्दा घरमा अन्नको कमी नभएको, सुख, शान्ति, समृद्धि प्राप्त भएको र रोग ब्याधको नाश हुन थालेको थियो । मूर्ति भगवान भएको र भगवानलाई घरमा राख्दा मान मर्यादा दिन नसकिने महसुस गरेर जमलबाट मूर्तिलाई लगेर जनबहालमा राखेको विश्वाश छ । मूर्तिको स्थापना गरिएको बर्षदेखि नै मूर्ति भेट्टाएको स्थानका रुपमा रथ यात्रा जमलबाट सुरु गर्ने गरिएको छ ।
अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्यअबलोकितेश्वर पनि हुन् ।
अनिष्ट टार्न तथा अकाल मृत्युबाट बच्न पुस शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन छ । महास्नानका लागि काठमाडौंको शोभा भगवती नजिकको भचाखुशी खोलाबाट ६ वटा तामाका र ३ वटा चाँदीका घटामा पानी ल्याइन्छ । यसरी ल्याइएको पानीमा ६ वटा तामाका घटामा भएको पानीमध्ये ३ पटक तातो र तीन पटक चिसो पानीले मच्छिन्द्रनाथलाई स्नान गराइन्छ । ३ वटा चाँदीका घटामा रहेको पानी मच्छिन्द्रनाथ, करुणामय र आर्यताराको साधना गरेर मच्छिन्द्रनाथको मन्दिरभित्र राखिने परम्परा रहेको छ । महास्नान गराउँदा पैंता, नाखीलगायतका सांस्कृतिक बाजागाजा बजाइन्छ । महास्नानपछि मच्छिन्द्रनाथको मूर्तिलाई बासको कपडाले बेरेर आफ्नो आसनमा नराखी बाहिरै राख्ने राखिन्छ । सेतो मच्छिन्द्रनाथलाई स्नान गराउने चलन लामो समय अघिदेखिको भए पनि यज्ञ मल्लका पालादेखि मन्दिर स्थापना गरी स्नान गराउन थालिएको इतिहासमा उल्लेख पाइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराउँदा आयु लामो हुने, अकालमा मृत्यु नहुने जनविश्वाश छ ।
माघ शुक्ल पूर्णिमाका दिन मच्छिन्द्रनाथलाई परम्परागत बौद्ध विधिअनुसार प्राण प्रतिष्ठा गराई नारी पुरुष दुवैलाई गरिने जातकर्म, नामकर्म, चुडाकर्म आदि संस्कारगत १० कर्म गराइन्छ । त्यसपछि मात्र अफ्नो आसनमा राखिन्छ ।
जात्रा तथा पर्वले आन्तरिक सद्भाव, भाइचारा, पारिवारिक सुख, सामाजिक व्यवस्थापन, सदाचारलगायत व्यक्ति, समाज तथा राष्ट्रलाई समृद्ध बनाउने क्षमता राख्छन् । यस पक्षलाई जात्रा सञ्चालन गर्नुको अर्थसँग जोडेर हेर्न सकिन्छ ।













