चैत्र ९ गते २०८२ --:--:--
मेनु

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

मेरो आर्थिक मेरो आर्थिक चैत्र ९ गते २०८२ ८:१० PM
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने महान्यायाधिवक्ता सविता भण्डारीको निर्णयविरुद्धको रिटमा सर्वोच्च अदालतले सुनुवाई सुरु गरेको छ । आज न्यायाधीशद्धय विनोद शर्मा र अब्दुल अजिज मुसलमानको इजलासमा निवेदनका तर्फबाट दुईजना वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गरेका छन् । आज सुरु भएको बहस रिट निवेदनका तर्फबाट दुई जनाले मात्र बहस गरेपछि यो मुद्धा हेर्दाहेर्दैमा राखिएको छ । यअसघि न्यायाधीशद्धय शारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले तीन दिन बहस सुनेर फाइल मगाउने आदेश गरेको थियो । यो रिट अधिवक्ता दिनेश त्रिपाठी, युवराज सफलगायतले महान्यायाधिवक्ताको कार्यालयको उक्त निर्णय बदरको माग गर्दै सर्वोच्चमा दायर गरेका थिए । रिटमा महान्यायाधिवक्ता कार्यालय,विभिन्न सरकारी वकिल कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयसमेतलाई रिटमा विपक्षी बनाइएको छ । रिट निवेदकहरूले लामिछानेविरुद्ध सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणसँग अपराधको अभियोगलाई कमजोर नबनाउन र कानुनी प्रक्रियामा कुनै अवरोध नगर्न परमादेश माग गरेका छन् । महान्यायाधिवक्ता कार्यालयले गत पुस ३० गते रास्वपा सभापति लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोग संशोधन गर्ने निर्णय गरेको थियो । महान्यायाधिवक्ता सविता भण्डारीले आसन्न निर्वाचनलाई लक्षित गरी लामिछानेलाई उम्मेदवारी दिन र निर्वाचित भएमा राजनीतिक अधिकार उपभोग गर्ने बाटो खुल्ने गरी अभियोग संशोधनको निर्णय गरेकी थिइन् ।

२- साफ यू- २० पुरुष च्याम्सिपयनसिप अन्तर्गत नेपालले विजयी शुरुवात गरेको छ । च्याम्पियनसिपको पहिलो खेल आज माल्दिभ्सको राजधानी मालेस्थित नेसनल स्टेडियममा सम्पन्न खेलमा नेपालले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि सुजन डंगोल र सुवास बमले एक एक गोल गरेका थिए । अब नेपालले अर्को खेल बुधबार श्रीलंकाविरुद्ध खेल्ने तालिका रहेको छ । साफ यू- २० पुरुष च्याम्सिपयनसिप खेल्ने नेपाली टिममा धर्मेन्द्र कुँवर (कप्तान), अलिक श्रेष्ठ, अनुभव पुरी, भक्तबहादुर परियार, विजय उराँव, विज्ञान खड्का, विनायक थारु, गणेश पुलामी मगर, जोन विष्ट, निशान राज लावत, पवन पाख्रिन, पेम्बा नुरबु भोटे, प्रशान्त मोक्तान, रोहन तामाङ, रोहन तामाङ, रोहन तामाङ, रोहन तामाङ। सविनकुमार लुंगेली मगर, सविन राई, सिद्धान्त खड्का, सुवास बम, सुजन बस्नेत र सुजन डंगोल रहेका छन् । साफ यू- २० पुरुष च्याम्सिपयनसिपमा ७ देशले प्रतिस्पर्धा गर्दै छन् । जसमा समूह ए मा नेपालसहित आयोजक माल्दिभ्स, भुटान र श्रीलंका रहेका छन् भने समूह बी मा साविक विजेता भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

३- इरानले अमेरिकासँग कुनै पनि प्रकारको वार्ता नभएको स्पष्ट पारेको छ । इरानको विदेश मन्त्रालयले वर्तमान अवस्थामा अमेरिकासँग वार्ता गर्ने अवस्था नरहेको समेत जनाएको छ । इरानी समाचार एजेन्सी मेहर समाचार एजेन्सीका अनुसार मन्त्रालयले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ऊर्जा मूल्य घटाउने र आफ्नो योजना अघि बढाउन समय लिनका लागि यस्ता अभिव्यक्ति दिइरहेको आरोप लगाएको छ । मन्त्रालयले क्षेत्रीय देशहरूले तनाव कम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै ती देशहरूको चिन्ता अमेरिकासामु राखिनुपर्ने बताएको छ । साथै युद्धको सुरुआत अमेरिकाले गरेको दाबी पनि इरानले गरेको छ ।

४- अमेरिका र इरानबीच हालै भएको वार्ता सकारात्मक रहेको जनाउँदै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि हुने भनिएको उर्जा केन्द्रको सैन्य आक्रमण पाँच दिनका लागि स्थगित गरेका छन् । सामाजिक सञ्जालमार्फत जानकारी दिँदै उनले पछिल्ला दुई दिनमा भएको वार्ता निकै उपयोगी र रचनात्मक रहेको उल्लेख गर्दै उर्जा केन्द्रमा गर्ने आक्रमण पाँच दिनका लागि स्थगित गरेको बताएका हुन् । मध्यपूर्वमा जारी तनाव समाधानतर्फ वार्ता अगाडि बढेको उनले दाबी गरेका छन् । उनले भनेका छन्- ‘म यो जानकारी गराउन चाहन्छु, संयुक्त राज्य अमेरिका र इरानले पछिल्ला दुई दिनमा पूर्ण समाधानको बारेमा धेरै राम्रो र उत्पादक कुराकानी गरेका छन् । यी मध्ये गहन, विस्तृत र रचनात्मक कुराकानीहरूको आधारमा, हप्ताभरि जारी रहनेछ, मैले युद्ध विभागलाई इरानी पावर प्लान्टहरू र ऊर्जा पूर्वाधार विरुद्धको कुनै पनि सैन्य आक्रमण पाँच दिनको अवधिको लागि स्थगित गर्न निर्देशन दिएको छु ।’ ट्रम्पका अनुसार यी छलफलहरू यसै साता पनि जारी रहनेछन् । वार्ताको वातावरण सकारात्मक देखिएकाले इरानका ऊर्जा केन्द्र र पूर्वाधारमाथि हुने भनिएको सबै सैन्य कारबाही पाँच दिनका लागि रोकिएको हो । यसअघि ट्रम्पले होर्मुज जलडमरु नखुलेमा इरानका ऊर्जा संरचनामा आक्रमण गर्ने चेतावनी दिएका थिए । यद्यपि, केही दिनअघि मात्र उनले इरानसँग युद्धविराममा जान इच्छुक नरहेको बताएका थिए । अहिले भने वार्तामार्फत समाधान खोज्ने संकेत देखिएको छ ।

५- पश्चिम एसियामा बढ्दो तनावबीच भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पहिलोपटक सार्वजनिक रूपमा प्रतिक्रिया दिएका छन् । भारतीय संसदमा बोल्दै उनले क्षेत्रीय तनाव अन्त्य हुनुपर्ने र समस्याको समाधान वार्तामार्फत मात्रै सम्भव रहेको बताएका छन् । उनले नागरिक र ऊर्जा संरचनामाथि हुने आक्रमण अस्वीकार्य रहेको उल्लेख गर्दै होर्मुज जलडमरु बन्द गर्ने प्रयास पनि स्वीकार्य नहुने स्पष्ट पारेका छन् । मोदीले भारतमा तेल र ग्यास संकट हुन नदिन सरकार सक्रिय रहेको बताए । उनका अनुसार अहिले भारतले २७ देशबाट बढाएर ४१ देशबाट ऊर्जा आयात गरिरहेको जानकारी दिदै पश्चिम एसियामा बसोबास गर्ने करिब एक करोड भारतीय नागरिकको सुरक्षालाई उच्च प्राथमिकता दिइएको उनले बताए । उनले हालसम्म ३ लाख ७५ हजारभन्दा बढी भारतीय सुरक्षित रूपमा स्वदेश फर्किसकेको जानकारी दिए । इरानबाट मात्रै करिब एक हजार नागरिक फर्किएको र तीमध्ये ७ सयभन्दा बढी चिकित्सा अध्ययनरत विद्यार्थी रहेको उल्लेख गरे । यसैबीच रुसले पनि जारी द्वन्द्व समाधानका लागि वार्ताको मार्ग अपनाउनुपर्ने धारणा राखेको छ। क्रेमलिनका प्रवक्ताले सैन्य कारबाहीभन्दा राजनीतिक र कूटनीतिक पहलबाट मात्र तनाव कम गर्न सकिने बताएका छन् ।

६- उपराष्ट्रपति रामसहाय प्रसाद यादवसँग नेपालका लागि बंगलादेशका राजदूत मो. शफिकुर रहमानले शिष्टाचार भेट गरेका छन् । सोमबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको हो । भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९७२ देखि नेपाल र बंगलादेशबीच मित्रवत् सम्बन्ध रहँदै आएको उल्लेख गर्दै आपसी सम्मान र विश्वासमा आधारित सम्बन्धलाई नेपालले उच्च महत्व दिएको बताए । उनले बंगलादेशमा हालै सम्पन्न निर्वाचनको सफलतामा बधाई दिँदै नयाँ सरकारलाई शुभकामना व्यक्त गरेका थिए । साथै नेपालमा पनि प्रतिनिधिसभा निर्वाचन सम्पन्न भई नयाँ सरकार गठनको प्रक्रिया अघि बढिरहेको उल्लेख गर्दै दुवै देशबीचको सहकार्य अझ मजबुत हुने विश्वास व्यक्त गरेका थिए । उपराष्ट्रपति यादवले बंगलादेशको विकास अनुभवबाट नेपालले सिक्न सक्ने बताउँदै सहकार्यमार्फत दुवै देशका नागरिकको समृद्धि बढाउन सकिने धारणा राखेका थिए । राजदूत रहमानले नेपाल-बंगलादेश सम्बन्ध आपसी विश्वास र जनस्तरको सम्बन्धमा आधारित रहेको बताए । उनले व्यापार, शिक्षा र ऊर्जा क्षेत्रमा सहकार्य बढाउन सकिने उल्लेख गर्दै हाल नेपालले पाइरहेको ४० मेगावाट विद्युतलाई बढाएर ६० मेगावाट पुर्‍याउन प्रस्ताव गरेका छन्। साथै नेपालको व्यापार घाटा घटाउन पनि बंगलादेश सहकार्य गर्न तयार रहेको उनले बताए ।

७- जारी पीएम कपमा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशले जित हासिल गरेका छन् । सोमबार सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ४ विकेटले पराजित गरेको हो । कर्णालीले दिएको १२० रनको लक्ष्य पछाएको सुदूरपश्चिम प्रदेशले २९.२ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि सुदूरपश्चिमका बलर हेमन्त धामीले ६ विकेट लिएपछि कर्णाली ११९ रनमै अल आउट भएको थियो । त्यस्तै आजै सम्पन्न अर्को खेलमा लुम्बिनी प्रदेशले कोशी प्रदेशलाई १४८ रनले पराजित गरेको छ । लुम्बिनी प्रदेशले दिएको २५० रनको लक्ष्य पछाएको कोशी प्रदेश ३१.४ ओभरमा अल आउट हुदै १०१ रन मात्र बनाएको थियो । कोशीको ब्याटिंग लाइन ध्वस्त पर्न लुम्बिनीका बलर संतोष यादवले ४ र राजेन्द्र बमले ३ तथा निर्मल गुरुङले २ विकेट लिएका थिए । यसअघि कप्तान देव खनालको ९२ रनको योगदानले लुम्बिनीले ४९.३ ओभरमा अल आउट हुदै २४९ रन बनाएको थियो ।

८- नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । काँग्रेसले मंगलबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने गरि केन्द्रीय समितिको बैठक बोलाएको काव मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिएका छन् । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं प्रदेश सभापतिहरूको उपस्थिति हुने छ । मंगलबारको बैठकमा सभापति गगन थापा सहभागी हुने बताइएको छ । यस अघि सभापति थापाले दिएको राजीनामा गत शुक्रबार र आइतबार बसेको केन्द्रीय समितिको बैठकले अस्वीकार गरेको थियो ।

९- प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गराउन भूमिका खेलेका कर्मचारी र सुरक्षा निकायका अधिकारीहरूलाई गृहमन्त्री ओमप्रकाश अर्यालले सम्मान गरेका छन् । सोमबार गृहमन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री अर्यालले विभिन्न निकायका उच्च अधिकारीलाई प्रशंसापत्र प्रदान गर्दै सम्मान व्यक्त गरेका हुन्। सम्मानित हुनेमा गृह मन्त्रालयका सचिव, रक्षा मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायत काठमाडौं उपत्यकाका जिल्ला सुरक्षा समितिका पदाधिकारी रहेका छन् । यस अवसरमा मन्त्री अर्यालले गत फागुन २१ मा सम्पन्न निर्वाचन शान्तिपूर्ण र सफल रूपमा सम्पन्न भएको उल्लेख गर्दै यसमा सबै सरोकारवालाको महत्वपूर्ण योगदान रहेको बताए। उनले रक्तपातबिनै एकै चरणमा निर्वाचन सम्पन्न हुनु नयाँ मानकका रूपमा स्थापित भएको उल्लेख गरेका थिए । उनले सामूहिक नेतृत्व, समन्वय र जिम्मेवार भूमिकाका कारण सकारात्मक परिणाम प्राप्त भएको भन्दै आगामी दिनमा पनि यस्तो अभ्यासलाई निरन्तरता दिनुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै सम्बन्धित अधिकारीहरूले पनि निर्वाचन अवधिभर देखिएको सहकार्य र समन्वय नै सफलताको मुख्य कारण भएको बताएका छन् ।

१०- नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज सोमबार नेप्से ५. ०१ अंकले बढेर २९३६.५६ विन्दुमा पुगेर रोकिएको छ । आज ३४२ कम्पनिका ३ करोड ८० लाख ७३ हजार ९४५ कित्ता शेयर १५ अर्ब ७५ करोड ६३ लाख १३ हजार ४४० मा कारोबार भएको थियो । आज बैंकिंग, विकास बैंक, होटल्स, जीवन बीमा, निर्जीव बीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ । आज, रिलायन्स स्मिनिंग मिल्स, सालपा विकास बैंक, सोलु हाइड्रो, भुजुंग हाइड्रोको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै मनकामना इन्जिनियरिङहाइड्रोको शेयर ९.९६ प्रतिशतले बढेको छ । त्यसैगरी आज सबैभन्दा बढी सनराइज फर्स्ट म्युचुअल फण्डको शेयर ३.७१ प्रतिशतले घटेको छ । त्यस्तै आज सबै भन्दा बढी कुमारी बैंकको शेयर ६७ करोड २३ लाख बराबरको कारोबार भएको छ भने शिभम सिमेन्टको शेयर ६० करोड ६४ लाख बराबरको कारोबार भएको छ ।

११- इन्टरनेट सेवा प्रदायक संघले महान्यायाधिवक्ताको कार्यालयको पछिल्लो निर्णयले इन्टरनेट सेवा उद्योगलाई पनि राहत दिएको जनाएको छ । संघका अध्यक्ष सुधिर पराजुलीले इन्टरनेट सेवा महसुलसम्बन्धी विवादमा महत्वपूर्ण निर्णय गर्दै उपभोक्तालाई थप आर्थिक भार नपर्ने व्यवस्था स्पष्ट पारेको बताएका हुन् । लामो समयदेखि इन्टरनेट महसुल र दूरसञ्चार सेवा दस्तुरबारे अन्योल रहँदै आएकोमा अब कानुनी स्पष्टता आएको हो । महान्यायाधिवक्ताको कार्यालयले प्रचलित कानुनअनुसार इन्टरनेट सेवा प्रदायकहरूले लिँदै आएको शुल्क प्रणाली सही रहेको निष्कर्ष निकालेको छ । निर्णयअनुसार फिक्स्ड ब्रोडब्यान्ड सेवामा कुल शुल्कको ५० प्रतिशतसम्म राखिने मर्मत-सम्भार शुल्कमा दूरसञ्चार सेवा दस्तुर नलाग्ने र बाँकी सेवा शुल्कमा मात्र दस्तुर उठाउने अभ्यास कानुनी रूपमा ठीक रहेको महान्यायाधिवक्ताको कार्यालयको पछिल्लो निर्णयले स्पष्ट गरेको संघको ठहर छ । यसले मर्मत-सम्भार शुल्कमा समेत थप कर लगाउनुपर्ने भन्ने तर्कलाई अस्वीकार गरेको छ। फलस्वरूप उपभोक्ताले थप शुल्क तिर्नु नपर्ने भएको छ भने इन्टरनेट सेवा प्रदायकहरूको व्यवसायिक स्थायित्व पनि सुरक्षित भएको संघले उल्लेख गरेको छ । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले नेपालमा इन्टरनेट विस्तार, उच्च गतिको सेवा, रोजगारी सिर्जना र अर्बौँ लगानीमार्फत महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको र देशका दुर्गम क्षेत्रसम्म इन्टरनेट पहुँच विस्तारमा पनि उनीहरूको भूमिका उल्लेखनीय रहेको संघले बताएको छ । इन्टरनेट सेवा प्रदायकहरूको छाता संस्थाले यस निर्णयलाई स्वागत गर्दै सम्बन्धित सरकारी निकायप्रति धन्यवाद व्यक्त गरेको छ। सरकारले इन्टरनेटलाई अत्यावश्यक सेवाका रूपमा लिँदै डिजिटल विकासको आधार मानेको अवस्थामा यो निर्णयले सस्तो र सर्वसुलभ इन्टरनेट पहुँच कायम राख्न थप मद्दत पुग्ने विश्वास संघले गरेको छ । महान्यायाधिवक्ता सबिता भण्डारीले वर्ल्ड लिंकविरुद्ध जाहेर भएको राजश्व छलीको मुद्धामा राय दिदै थप मुद्धा चलाउन नपर्ने भन्ने गरेको निर्णयको संघले स्वागत गरेको छ ।

१२- बलिवुड अभिनेता रणवीर सिंह अभिनित धुरन्धर-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गर्नेक्रम जारी रहेको छ । बलिवुड फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले चार दिनमा ४४३ करोड भारु कमाई गरेको छ । फिल्मले रिलिजको चौथो दिन आइतबार भारतभर ११३ करोड कमाई गरेसँगै चार दिनमा ४४३ करोड कमाएको हो । फिल्मले पेड रिभ्यु र रिलिजको पहिलो दिन १४० करोड, दोस्रो दिन ८१ करोड र तेस्रो दिन १०९ करोड भारु कमाएको थियो । योसँगै बलिवुडमा धुरन्धर-२ ले सबैभन्दा छिटो ३ सय करोड र ४ सय करोडको नयाँ किर्तिमान बनाएको छ । धुरन्धर- २ फिल्म ३ घण्टा ४९ मिनेटको रहेको छ । जुन बलिवुडको सबैभन्दा दोस्रो लामो फिल्म भनिएको छ । यसअघिको सबैभन्दा लामो फिल्म जेपी दत्ताको २००३ मा रिलिज भएको फिल्म एलओसी कारगिल ४ घण्टा १५ मिनेट लामो थियो । धुरन्धर २ मा रणवीर सिंह, अर्जुन रामपाल, संजय दत्त र आर. माधवनले अभिनय गरेका छन् । आदित्य धरले फिल्म लेखेका छन् र निर्देशन गरेका छन् । त्यस्तै फिल्मको निर्माण पनि उनले नै गरेका हुन् । यो फिल्म जियो स्टुडियोद्वारा प्रस्तुत गरिएको हो र बि ६२ स्टुडियोको ब्यानरमा निर्माण गरिएको हो । धुरन्धरको पहिलो भागले ८३६ करोड कमाई गरेर बलिवुडकै अहिलेसम्मको सर्बाधिक कमाई गर्ने फिल्म बनेको थियो । फिल्मले विश्वभर लगभग १३ सय करोड भारु कमाएको थियो ।

१३- मध्यपूर्वमा बढ्दो तनावलाई ध्यानमा राख्दै अमेरिकाले आफ्ना नागरिकका लागि विश्वव्यापी चेतावनी जारी गरेको छ । अमेरिकी विदेश मन्त्रालयले विश्वभर, विशेषगरी मध्यपूर्व क्षेत्रमा रहेका आफ्ना नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । मन्त्रालयले समय-समयमा हवाई मार्ग बन्द हुन सक्ने भएकाले यात्रामा अवरोध आउन सक्ने जनाएको छ । साथै, मध्यपूर्व बाहिर पनि अमेरिकी कूटनीतिक स्थलहरूलाई निशाना बनाइएका घटना भएको उल्लेख गरिएको छ । अमेरिकाले इरान समर्थित समूहहरूले विदेशमा रहेका अमेरिकी नागरिक र उनीहरूसँग सम्बन्धित स्थानहरूलाई लक्षित आक्रमण गर्न सक्ने चेतावनी समेत दिएको छ।

१४- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले गौरीबहादुर कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग अनुरोध गरेका छन् । उनले जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गतेका घटना छानविनका लागि गठित आयोगबाट प्राप्त भएको लामो समय भैसकेको अवस्थामा समेत सरकारले प्रतिवेदन सार्वजनिक नगरी गुपचुप राखिनुलाई विडम्बना भन्दै यसले आशंका जन्माएको भनेका छन् । भदौ २३ र २४ गतेको जेनजी आन्दोलनबारे छानबिन गर्न गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोगले सरकारलाई बुझाइसकेको छानबिन प्रतिवेदन अन्तरिम सरकारले अझै सार्वजनिक गरेको छैन । यसले अनेक आशंका र उपशंका जन्माएको छ, उनले भने । कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न कुन विषयले रोक्यो, यो किन सार्वजनिक गरिँदैन भन्दै उनले यसले यक्ष प्रश्न खडा भएको बताए । ‘अब अन्तरिम सरकारको समय सकिएको छ, जाने बेला समेत प्रतिवेदन सार्वजनिक नगरेर सरकार आफ्नो कर्तव्यबाट किन विमुख हुँदैछ ?,’ उनले भने, ‘आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो, यसलाई यसअघिका आयोगहरुका प्रतिवेदनजस्तै गुपचुप राखिनु विडम्बना हो ।’ महामन्त्री पौडेलले हिजो सम्पन्न केन्द्रीय कार्य समिति बैठकबाट नेपाली कांग्रेसले प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गर्ने निर्णय गरेको स्मरण गराउँदै जाँदा जाँदै आफ्नो दायित्व पूरा गर्न सरकारलाई स्मरण गराएका छन् । नेपाली काङ्ग्रेसले केन्द्रीय कार्य समिति बैठकबाट समेत प्रतिवेदन सार्वजनिक गर्न माग गरिसकेको छ । म जाँदै गरेको यो सरकारलाई यथाशीघ्र प्रतिवेदन सार्वजनिक गरेर आफ्नो दायित्व पूरा गर्न फेरि पनि अनुरोध गर्दछु, उनले भनेका छन् ।

१५- नेपाली बजारमा आज सुनचाँदीको मुल्यमा गिरावट आउनेक्रम आज पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ६५ सयले घटेर तोलाको २ लाख ७५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख ८२ हजारयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ११५ रुपैयाँले घटेर ४४२५ मा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ४५४० मा कारोबार भएको थियो ।

१६- नेपालको हङकङ चाइनासँग हुन लागेको अन्तराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषदबीच जुहारी चलेकोले छ । एन्फाले राखेपले दशरथ रंगशालाको स्वीकृति नदिएका कारण खेल स्थगित भएको सूचना प्रकाशित गरेसँगै खेलकुद परिषदले नियमित प्रकृया पुराएर खेल आयोजना गर्नेगरि स्वीकृति प्रदान गरिएको जानकारी जनाएको थियो । तर एन्फाले सोमबार अर्को विज्ञप्ति जारी गर्दै राखेपले समयमा स्वीकृति नदिएका कारणले खेल हुन नसकेको दाबि गरेको छ । एन्फाका प्रवक्ता सुरेन्द्र शाहले विज्ञप्तिमा चैत ८ गते बिहान १०:३० बजेदेखि अपराह्न १२:३० बजेसम्म एन्फाका कर्मचारी राखेप कार्यालयमा उपस्थित रहँदा समेत कुनै लिखित स्वीकृति पत्र प्रदान नगरिएको बताएका छन् ।

१७- जनबहाःद्य (सेतो मच्छिन्द्रनाथको रथयात्रा) को जात्रा सञ्चालनका लागि काठमाडौँ महानगरले तयारी बैठक गरेको छ । हानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको वैठकमा रथयात्रा मार्ग व्यवस्थापन, धार्मिक, सांस्कृतिक तथा सामाजिक कामको समन्वय र सहजीकरण, सरसफाइ, शान्ति सुरक्षा, जात्राको गरिमा प्रवर्धन लगायत विषयमा छलफल भएको थियो । यो जात्रा महानगरपालिकाका ९ वटा वडाहरु (१, १९, २०, २१, २३, २४, २५, २७ र २८) मा सञ्चालन हुन्छ । छलफलमा कार्यवाहक प्रमुख डंगोलले, जात्रा सञ्चालनका लागि महानगरपालिकाले दिँदै आएको सहयोग रकम १० लाख रुपियाँबाट २० लाख रुपियाँ पुर्‍याइएको बताउँदै यसबाट जात्राको भव्यता र श्रद्धालुहरुको सहजतामा सहयोग पुग्ने बताइन् । गुठी संस्थानका प्रशासक शैलेश कुँवरले समयमा रथ यात्रा प्रारम्भ गरेर तालिका व्यवस्थापनमा प्रयास गर्ने बताए । जनवहाः द्यः जात्रा व्यवस्थापन समितिका संयोजक सुजीव वज्राचार्यका अनुसार यस वर्ष यस बर्ष चैत १२ गते केलटोलबाट खट यात्रा सुरु हुनेछ । सेतो मच्छिन्द्रनाथको मूर्तिलाई बिशेष श्रृङ्गार गरेर जमलस्थित तीनधारा पाठशाला अघिल्तिर निर्माण गरिएको रथमा लगेर प्रतिस्थापन गरिन्छ । यसपछि रथ तानेर पहिलो दिन रत्नपार्क, भोटाहिटी हुँदैअसनसम्म पुर्‍याइन्छ । त्यसै दिन राती १० बजे राष्ट्रपति दर्शनका लागि असन आउने कार्यक्रम छ । १३ गते साँझ ५ बजे असनबाट बालकुमारी, केलटोल, इन्द्रचोक हुँदै हनुमानढोका पुर्‍याइनेछ । १४ साँझ ५ बजे हनुमानढोकाबाट हनुमानढोकाबाट चिकंमुगल, जैसीदेवल, ज्यावहाल हुँदै लगनसम्म पुर्‍याइन्छ । १५ गते लगनस्थित मच्छिन्द्रनाथकी आमा भएको रुखको परिक्रमा गराइन्छ । त्यसको भोलिपल्ट चैत १६ गते रथ यात्राको अन्तिम दिन लगनबाट मूर्तिलाई खटमा राखेर ज्याबहाल द्यः लँ, यूतुननी, कोहिटी, भीमसेनस्थान, मरु, यट्खा, नरदेवी, किलाघः, भेडासिंह, केलटोल हुँदै जनबहाल पुर्‍याइन्छ । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिनबाट यो रथ यात्रा सुरु गरिन्छ । काठमाडौंँको जमलबाट सुरु भएर चैत्र शुक्ल पूर्णिमाका दिन जनबहालमा सम्पन्न हुन्छ । सेतो मच्छिन्द्रनाथलाई बर्षा र सहकालका देवताका रुपमा पूजा गरिन्छ । अनिष्ट हटाउने, अकाल मृत्युबाट बचाउने तथा अशान्ति र असुरक्षाबाट बचाउने देवताका रुपमा समेत मच्छिन्द्रनाथको पूजा आराधना गर्ने चलन छ । मच्छिन्द्रनाथको जात्रा मनाउनाले घरमा लक्ष्मी भित्रिने, परिवारमा सुख, शान्ति र समृद्धि छाउने विश्वाशले मानिसहरु जात्रामा सहभागी हुन्छन् । प्राचीन कालमा काठमाडौँको जमलमा खेत खन्ने क्रममा किसानले सेतो मच्छिन्द्रनाथको मूर्ति भेट्टाएको कथा यो रथयात्रासँग सम्बन्धित छ । मूर्तिलाई खेतबाट निकाली घरको भकारीमा राख्दा घरमा अन्नको कमी नभएको, सुख, शान्ति, समृद्धि प्राप्त भएको र रोग ब्याधको नाश हुन थालेको थियो । मूर्ति भगवान भएको र भगवानलाई घरमा राख्दा मान मर्यादा दिन नसकिने महसुस गरेर जमलबाट मूर्तिलाई लगेर जनबहालमा राखेको विश्वाश छ । मूर्तिको स्थापना गरिएको बर्षदेखि नै मूर्ति भेट्टाएको स्थानका रुपमा रथ यात्रा जमलबाट सुरु गर्ने गरिएको छ । अष्टमीका दिन निकालिएको सेतो मच्छिन्द्रनाथको मूर्तिलाई पूर्णिमाका दिन मन्दिरमा लगेर रथ यात्रा बिसर्जन गर्नु पर्ने प्रचलन छ । हिन्दु र बौद्ध धर्मावलम्बीहरुका साझा आस्थाका देवता सेतो मच्छिन्द्रनाथको जात्रा चैत्र शुक्ल अष्टमीदेखि पूर्णिमा भित्रका ५ दिन चल्छ । मूर्ति सेतो भएकोले देवताको नाम सेतो मच्छिन्द्रनाथ राखिएको बिश्वास छ । देवताका अन्य नामहरुमा करुणामय, आर्यअबलोकितेश्वर पनि हुन् । अनिष्ट टार्न तथा अकाल मृत्युबाट बच्न पुस शुक्ल अष्टमीका दिन सेतो मच्छिन्द्रनाथलाई महास्नान गराउने चलन छ । महास्नानका लागि काठमाडौंको शोभा भगवती नजिकको भचाखुशी खोलाबाट ६ वटा तामाका र ३ वटा चाँदीका घटामा पानी ल्याइन्छ । यसरी ल्याइएको पानीमा ६ वटा तामाका घटामा भएको पानीमध्ये ३ पटक तातो र तीन पटक चिसो पानीले मच्छिन्द्रनाथलाई स्नान गराइन्छ । ३ वटा चाँदीका घटामा रहेको पानी मच्छिन्द्रनाथ, करुणामय र आर्यताराको साधना गरेर मच्छिन्द्रनाथको मन्दिरभित्र राखिने परम्परा रहेको छ । महास्नान गराउँदा पैंता, नाखीलगायतका सांस्कृतिक बाजागाजा बजाइन्छ । महास्नानपछि मच्छिन्द्रनाथको मूर्तिलाई बासको कपडाले बेरेर आफ्नो आसनमा नराखी बाहिरै राख्ने राखिन्छ । सेतो मच्छिन्द्रनाथलाई स्नान गराउने चलन लामो समय अघिदेखिको भए पनि यज्ञ मल्लका पालादेखि मन्दिर स्थापना गरी स्नान गराउन थालिएको इतिहासमा उल्लेख पाइन्छ । मच्छिन्द्रनाथलाई स्नान गराउँदा आयु लामो हुने, अकालमा मृत्यु नहुने जनविश्वाश छ । माघ शुक्ल पूर्णिमाका दिन मच्छिन्द्रनाथलाई परम्परागत बौद्ध विधिअनुसार प्राण प्रतिष्ठा गराई नारी पुरुष दुवैलाई गरिने जातकर्म, नामकर्म, चुडाकर्म आदि संस्कारगत १० कर्म गराइन्छ । त्यसपछि मात्र अफ्नो आसनमा राखिन्छ । जात्रा तथा पर्वले आन्तरिक सद्भाव, भाइचारा, पारिवारिक सुख, सामाजिक व्यवस्थापन, सदाचारलगायत व्यक्ति, समाज तथा राष्ट्रलाई समृद्ध बनाउने क्षमता राख्छन् । यस पक्षलाई जात्रा सञ्चालन गर्नुको अर्थसँग जोडेर हेर्न सकिन्छ ।

१८- म्यानचेस्टर सिटीले इएफएल लिग कपको उपाधि जितेको छ । गएराती सम्पन्न फाइनल खेलमा म्यानचेस्टर सिटीले आर्सनललाई २-० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । म्यानचेस्टर सिटीको जितमा निको ओ रेइलीले दुवै गोल गरेका थिए । उनले खेलको ६० र ६४औं मिनेटमा गोल गर्दै म्यानचेस्टर सिटीलाई उपाधि दिलाएका थिए । योसँगै म्यानचेस्टर सिटीले लिग कपको उपाधि नवौं पटक जितेको छ । लिग कप विजेताको सूचीमा म्यानचेस्टर सिटी दोस्रो स्थानमा रहेको छ । लिभरपुलले सबैभन्दा बढी १० पटक यो उपाधि जितेको छ ।उपविजेता बनेको आर्सनलले भने यसअघि दुई पटक १९८७ र १९९३ मा यो उपाधि जितेको थियो ।

१९- ७ सिट जितेको हर्क साम्पाङको श्रम संस्कृति पार्टी र ५ सिट जितेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधि सभामा प्रमुख सचेतक नपाउने भएका छन् । फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनबाट श्रम संस्कृतिले प्रत्यक्षमा तीन र समानुपातिकमा चार गरी सात सिट जितेको छ भने राप्रपाले प्रत्यक्षमा एक र समानुपातिकमा चार गरी पाँच सिट जितेको छ । दुबै पार्टीले राष्ट्रिय दलको मान्यता पाएपनि पार्टीका प्रमुख सचेतकले भने सरकारले दिने सुविधा नपाउने भएका हुन् । संघीय संसद सचिवालयका अनुसार कुनै पनि पार्टीका प्रमुख सचेतकले संसदबाट सुविधा लिन कम्तिमा १० जना सांसद हुनुपर्ने नियम रहेको छ । संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३ अनुसार १० जना सदस्य रहेको दलले मात्रै प्रमुख सचेतकको सुविधा पाउने उल्लेख छ । यसको परिभाषा खण्डमा भनिएको छ, ‘दलको प्रमुख सचेतक भन्नाले प्रतिनिधि सभामा दश जना भन्दा बढी सदस्यहरू रहेको दलको नेताले सो दलको प्रमुख सचेतक भई काम गर्न तोकेको त्यस्तो सभाको सदस्य सम्झनुपर्छ।’ संघीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐनको अनुसूची २ अनुसार दलको प्रमुख सचेतकले सवारी सुविधा र प्रथम स्तरको दुई जना सवारीचालक प्राप्त गर्ने व्यवस्था छ । प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का १८२, कांग्रेसका ३८, एमालेका २५ र नेपाली कम्युनिस्ट पार्टीका १७ जना सांसद छन् । यी चार दलका प्रमुख सचेतकले भने सुविधा पाउनेछन् । यसैबीच श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले पार्टीलाई सुबिधा नदिने भए मन्त्रीहरुले पनि सुबिधा लिन नपाउने भन्दै टिप्पणी गरेका छन् । उनले भनेका छन्- ‘राष्ट्रिय पार्टी श्रम संस्कृतिलाई कुनै सुबिधा नदिने हो भने मन्त्रीहरुले पनि सुबिधा नलिनु होला, सुरक्षाकर्मी पनि नलिनु, आफै हिँड्नु, काम छैन।’

२०- बेलायतले आफ्नो आणविक शक्तिबाट चल्ने पनडुब्बी अरब सागर क्षेत्रमा तैनाथ गरेको छ । ‘एचएमएस एन्सन’ नामक उक्त पनडुब्बी अहिले अरब सागरको उत्तरी भागमा रहेको जनाइएको छ । सार्वजनिक विवरणअनुसार पनडुब्बी लामो दूरीका क्षेप्यास्त्र र शक्तिशाली टरपीडोले सुसज्जित छ । आवश्यक परे सतह नजिक आएर क्षेप्यास्त्र प्रहार गर्न सक्ने क्षमता रहेको बताइएको छ । यसअघि बेलायतले अमेरिकालाई आफ्ना सैन्य आधार प्रयोग गर्न अनुमति दिएको थियो, जसबाट होर्मुज जलडमरू क्षेत्रमा रहेका लक्ष्यमाथि आक्रमण गर्न सकिने बताइएको छ । बेलायतले अन्तर्राष्ट्रिय साझेदारसँग मिलेर समुद्री मार्गको सुरक्षा सुनिश्चित गर्न योजना बनाइरहेको जनाएको छ । तर बेलायतले यो द्वन्द्वमा पूर्ण रूपमा संलग्न हुन नचाहेको स्पष्ट पारेको छ । यसैबीच इरानका विदेश मन्त्री अब्बास अराघचीले बेलायतलाई चेतावनी दिँदै अमेरिका र इजरायलको साथ दिए अवस्था झनै बिग्रन सक्ने बताएका छन् ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?