काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीका कारण घरबार छाडेर विभिन्न जिल्लाका होल्डिङ सेन्टरमा बसिरहेका प्रभावित परिवारका लागि सरकारले अस्थायी आवासको व्यवस्था गर्न विस्तृत तथ्यांक संकलन सुरु गरेको छ ।
प्रभावित नागरिकको आवश्यकता र इच्छाअनुसार अस्थायी बसोबासको व्यवस्था मिलाउने उद्देश्यले सर्वेक्षण अघि बढाइएको हो । सरकारले आगामी केही साताभित्र होल्डिङ सेन्टरमा रहेका परिवारलाई छुट्टाछुट्टै अस्थायी आवासमा स्थानान्तरण गर्ने तयारी गरेको छ ।
पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागले मंगलबारदेखि प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरेको छ । टोलीले ‘KoBoToolbox’ डिजिटल प्रणाली प्रयोग गरी प्रभावित परिवारको आवश्यकता मूल्यांकन तथा विवरण संकलन गरिरहेको विभागले जनाएको छ ।
सर्वेक्षणबाट बाढी प्रभावित परिवारको वास्तविक अवस्था, घरमा भएको क्षति र तत्काल आवश्यक पर्ने सेवाबारे जानकारी संकलन गरिनेछ । त्यस क्रममा परिवारको सदस्य संख्या, घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएको अवस्था, दिवंगत तथा बेपत्ता सदस्यको विवरणलगायतका विषय समेटिनेछन् ।
त्यसैगरी, प्रभावित परिवारले सरकारी सहयोगमा निर्माण हुने अस्थायी आवासमा बस्न चाहेको हो वा भाडाको घरमा बस्न रुचाएको हो भन्ने विषय पनि सर्वेक्षणमा समेटिएको छ । उपलब्ध जग्गा, सुरक्षित स्थानान्तरणको सम्भावित स्थान, खानेपानी, सरसफाइ तथा अन्य आधारभूत आवश्यकताबारे पनि तथ्यांक लिइँदैछ ।
विभागका अनुसार पहिलो चरणमा होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सबै परिवारको आवश्यकता एक साताभित्र पहिचान गर्ने लक्ष्य राखिएको छ ।
होल्डिङ सेन्टरको विवरण संकलन सकिएपछि आफन्तको घर वा अन्य स्थानमा बसिरहेका बाढी प्रभावित परिवारको समेत सोही डिजिटल प्रणालीमार्फत सर्वेक्षण गरिनेछ । प्राप्त तथ्यांकका आधारमा प्रभावित नागरिकको पुनर्स्थापना तथा अस्थायी आवास व्यवस्थापनसम्बन्धी सरकारी योजना अघि बढाइने विभागले जनाएको छ ।













