मंसिर ९ गते २०८३ --:--:--
मेनु

अयोध्या–जनकपुरधाम रेल सम्पर्क सुरु, पहिलो यात्रामै हजारभन्दा बढी तीर्थयात्रीको आगमन

मेरो आर्थिक मेरो आर्थिक • मंसिर ९ गते २०८३ २:११ PM
अयोध्या–जनकपुरधाम रेल सम्पर्क सुरु, पहिलो यात्रामै हजारभन्दा बढी तीर्थयात्रीको आगमन

जनकपुरधाम । नेपाल र भारतबीचको धार्मिक सम्बन्धलाई रेलमार्गले जोड्ने नयाँ अध्याय सुरु भएको छ । भारतको अयोध्याबाट सञ्चालनमा ल्याइएको सरयू–कमला एक्सप्रेस मंगलबार बिहान जनकपुरधाम आइपुगेको छ । पहिलो यात्रामा एक हजारभन्दा बढी तीर्थयात्री तथा प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी भएका छन् ।

नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीस्थित हैदराबाद हाउसबाट संयुक्त रूपमा सेवा उद्घाटन गरेपछि रेल अयोध्याका लागि प्रस्थान गरेको थियो । अयोध्याबाट छुटेको रेल मंगलबार बिहान करिब ९ः४० बजे जनकपुरधाम पुगेको हो ।

रेल जनकपुरधाम आइपुग्दा स्थानीय बासिन्दा, सरकारी अधिकारी तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले परम्परागत शैलीमा स्वागत गरेका थिए । नेपाली र भारतीय झण्डासहित उपस्थित सर्वसाधारणले फूलमाला, सांस्कृतिक प्रस्तुति र धार्मिक मन्त्रोच्चारणमार्फत यात्रुहरूको स्वागत गरेका थिए ।

नेपाल रेल्वे कम्पनीका प्रबन्ध निर्देशक परिवेश पराजुलीका अनुसार १७ वटा डिब्बा रहेको रेलमा एक हजारभन्दा बढी यात्रु आएका छन् । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसहित विभिन्न सरकारी प्रतिनिधिहरू पनि स्वागत कार्यक्रममा सहभागी भएका थिए ।

जनकपुरधाम पुगेका तीर्थयात्रीका लागि जानकी मन्दिरसहितका प्रमुख धार्मिक स्थलको दर्शन गर्ने कार्यक्रम राखिएको थियो । आगन्तुकलाई सहज रूपमा पूजाआजा र दर्शन गराउन मन्दिर व्यवस्थापनले आवश्यक तयारी गरेको जनाएको छ । यात्रुहरूको छोटो बसाइलाई व्यवस्थित बनाउन सुरक्षा, यातायात तथा खानपिनको प्रबन्धसमेत गरिएको थियो ।

करिब ६०४ किलोमिटर दूरी समेट्ने यो रेलमार्ग भारतको उत्तर प्रदेश र बिहारका विभिन्न सहर हुँदै जनकपुरधामसम्म पुग्छ । यात्राका क्रममा मनकापुर, बस्ती, गोरखपुर, नरकटियागञ्ज, रक्सौल, सीतामढी, मधुबनी र जयनगरलगायतका स्थानमा रेल रोकिने व्यवस्था छ ।

सुरुआती चरणमा सातामा एकपटक सञ्चालन हुने रेलमा स्लीपर, एसी थ्री टियर, एसी थ्री टियर इकोनोमी र एसी टु टियरसहितका सुविधा उपलब्ध छन् । नियमित व्यावसायिक सेवा नोभेम्बर २८ अर्थात् मंसिर १३ गतेदेखि सञ्चालन गर्ने तयारी गरिएको छ ।

धार्मिक मान्यताअनुसार अयोध्या भगवान् रामको जन्मस्थल र जनकपुरधाम माता सीताको जन्मभूमि हो । रामायणसँग जोडिएका यी दुई ऐतिहासिक स्थलबीच प्रत्यक्ष रेल सम्पर्क कायम भएपछि धार्मिक यात्रामा सहजता आउने अपेक्षा गरिएको छ ।

नयाँ रेल सेवाले तीर्थयात्रीको आवागमन बढाउनुका साथै जनकपुरधामको पर्यटन, होटल व्यवसाय, यातायात र स्थानीय व्यापारमा समेत नयाँ अवसर सिर्जना गर्न सक्ने देखिएको छ । यसबाट नेपाल–भारतबीचको सांस्कृतिक आदानप्रदान र परम्परागत सम्बन्धलाई थप विस्तार गर्ने विश्वास गरिएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?