Skip to content
logo
भाद्र २३ गते २०८१ समयः

गुरुयोजना अन्तर्गत अन्नपूर्ण प्रथम आधार शिविरमा विकास कार्य थालनी

मेरो आर्थिक
मेरो आर्थिक
माघ ७ गते २०८०
गुरुयोजना अन्तर्गत अन्नपूर्ण प्रथम आधार शिविरमा विकास कार्य थालनी

बेनी। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज तथा अन्य पूर्वाधार निर्माण गरिने भएको छ।

 अन्नपूर्ण आधार शिविर क्षेत्रको गुरुयोजना अन्तरगत भ्रमणमा जाने पर्यटकको आवास र खानाको सुविधाका लागि गाउँपालिकाले ५० लाख रुपैयाँ बजेटमा लज निर्माणको तयारी गरेको गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए।

पालिकाले ५० लाख मध्ये १५ लाख रुपैयाँ बजेट विनियोजन गरेर अन्नपूर्ण प्रथम हिमालको आधार शिविर र पदमार्ग क्षेत्रलाई समेटेर पर्यटन गुरुयोजना तयार गर्ने काम अघि बढाएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी र्दिए।

“अन्नपूर्णको आधार शिविरको प्रवद्र्धनका लागि अहिले गुरुयोजना बनाउने काम भइरहेको छ”, उनले भने, “गुरुयोजनामा प्राथमिकता दिइएका क्षेत्रलाई योजनाबद्ध तरिकाले अघि बढाउने छौँ। यस वर्ष आधार शिविर र भुसकेट मेलामा दुई वटा लज बनाउने तयारी छ।”

पालिकाले उक्त आधार शिविर जाने पदमार्गलाई थप व्यवस्थित बनाउँदै प्रवर्द्धन गर्न अभियान चलाउने जनाएको छ। यहाँ लज निर्माण गरी सञ्चालनमा ल्याउन सकेमा आन्तरिक तथा बाह्य पर्यटकलाई सुविधा पुग्ने प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए। उनका अनुसार अहिले आधार शिविर जाने पर्यटकले हुमखोलादेखि माथि आफैँ खाना र बसोबासका सामानको बन्दोबस्त गरेर जानुपर्ने बाध्यता छ।

गाउँपालिकाले पदमार्गअन्तर्गत फुतफुते झरनाको खोलामा पुल निर्माण गर्ने, पदमार्ग निर्माणलाई पूर्णता दिने, विश्रामस्थल थप गर्ने, शौचालय र खानेपानीको प्रबन्ध मिलाउने, फोहरमैला व्यवस्थापन गर्नेलगायत कामलाई प्राथमिकता दिएको पालिकाका अध्यक्ष पुनले जानकारी दिए। 

नारच्याङदेखि कुल ४२ किलोमिटरको दूरीमा रहेको अन्नपूर्ण प्रथम हिमालको आधार शिविर पुग्नका लागि हुमखोलासम्मको २० किलोमिटर दूरीको बाटोमा सडकको पहुँच पुगेको छ। हुमखोलादेखि आधार शिविरसम्मको २२ किलोमिटर दुरीमा पदमार्ग निर्माण भएको छ। सडक र पदमार्गका पूर्वाधार बनेसँगै गाउँपालिकाको केन्द्र पोखरे बगरदेखि नारच्याङ हुँदै आधार शिविरसम्म एकैदिनमा पुग्न सकिन्छ। 

Add a new comment