आदिकवि भानुभक्तको जन्मस्थललाई पर्यटकीय गन्तव्य को रुपमा विकास गरिने
मेरो आर्थिक
माघ २५ गते २०८०
समयः २:३३ pm
तनहुँको भानु नगरपालिकाले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुण्डीरामघालाई साहित्यिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रक्रिया अघि बढाएको छ । भानु नगरपालिका–४ मा ‘साहित्य उद्यान’ निर्माण हुन लागेको हो ।
आचार्य नेपाली भाषाका अग्रगामी कवि हुन् । आदिकवि आचार्यको जन्मस्थलमा पर्यटन विकासका लागि नगरपालिकाले काम थालेको मेयर आनन्दराज त्रिपाठीले जानकारी दिए । यसका लागि संघीय सरकारले पनि ५ करोड बजेट विनियोजन गरेको थियो । अर्थ मन्त्रालयले केही दिनअघि बजेट सार्वजनिक गरेको थियो ।
त्रिपाठीले भने, "राष्ट्रपति रामचन्द्र पौडेलले यस ठाउँको विकासका लागि गहिरो चासो लिएका छन्, उहाँकै सहयोगमा साहित्यिक पार्क निर्माणको काम सुरु भएको छ।" जग्गा अधिग्रहण, दीर्घकालीन योजना तर्जुमा र प्रतिष्ठित साहित्यकारको शालिक स्थापनामा बजेट खर्च गरिनेछ ।
पहिले जग्गा प्राप्ति र त्यसपछि दीर्घकालीन योजनाबाट काम सुरु हुन्छ । "आदिकवि भानुभक्तको जन्मभूमि छायामा हुनु चिन्ताजनक छ, यसलाई पर्यटकीय गन्तव्य बनाउन ध्यान र योग्यता आवश्यक छ," उनले भने ।
त्यस्तै, उपमेयर उमा गोतामेले साहित्य पार्क बनेपछि स्वदेशी तथा विदेशी पर्यटक भित्र्याउन सहज हुने बताइन् ।
पार्कका लागि ८३ रोपनी जग्गा अधिग्रहण गरिने छ ।
निकुञ्ज विकास समितिका अध्यक्ष डा जयराज आचार्यले साहित्य पार्क निर्माणका लागि समितिले आवश्यक सहयोग र परामर्श दिने बताए ।