वैशाख ११ गते २०८३ --:--:--
मेनु

आजदेखि बडादशैं सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा

मेरो आर्थिक मेरो आर्थिक असाेज २८ गते २०८० ८:३१ AM
आजदेखि बडादशैं सुरु, घटस्थापनाको उत्तम साइत बिहान ११ बजेर २९ मिनेटमा

आश्विन शुक्ल प्रतिपदा आज २०८० साल असोज महिनाको २८ गते आईतबार देखि बडा दशैंको पहिलो दिन घटस्थापना सँगै नवरात्र प्रारम्भ भएको छ । आज नवरात्रको पहिलो दिन आज घर–घरमा घटस्थापना गरिन्छ । सोही अवसरमा आज बिहान ११ बजेर २९ मिनेटको साइतमा घटस्थापना गरिनु उत्तम रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

यस दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले घटस्थापना गर्नु अगाडि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरी घटस्थापना गर्नु शास्त्रसम्मत देखिने समितिले जनाएको छ । बडा दशैंको पहिलो दिन आज घरका पूजा कोठा र दशैं घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैं घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।

आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैं घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोपिन्छ जसलाई जमरा राख्ने पनि भनिन्छ । यव अङ्कुर दुर्गा देवीको प्रिय वस्तु भएकाले आज यव रोपण गरी दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसितै समृद्धिको प्रतीक पहेँलो जमरा लगाइन्छ ।

आज दुर्गा देवीका तीनवटा रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा आराधना गरिन्छ । महाकाली शक्तिको प्रतीक, महालक्ष्मी धनधान्य, ऐश्वर्यको प्रतीक र महासरस्वतीलाई विद्या र बुद्धिको प्रतीकको रूपमा पूजा आराधना गर्ने वैदिककालदेखिको परम्परा छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?