अल थानी आज नेपाल आउने, २१ तोपको सलामी दिएर सम्मान गरिने
मेरो आर्थिक
वैशाख ११ गते २०८१
समयः ७:३५ am
कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउने निश्चय भएको छ । दुईदिने राजकीय भ्रमणको क्रममा उनी मंगलबार नेपाल आउन लागेका हुन ।
कतारका अमिर शेख तमिम बिन हमाद अल थानीलाई राष्ट्रपति रामचन्द्र पौडेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने भएका छन् ।
विमानस्थलको अति विशिष्ट कक्षमा कतारका अमिरलाई २१ तोपको सलामी दिएर सम्मान गरिने कार्यक्रम रहेको छ । सोही उपलक्ष्यमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ ।
फिलिपिन्सबाट एसिया भ्रमण थालेका कतारी राजा बंगलादेशबाट काठमाडौं उत्रन लागेका हुन् । उनले मंगलबार बेलुका नै राष्ट्रपति पौडेलसँग शीतल निवासमा भेटवार्ता गर्नेछन् । उक्त भेटवार्तापछि राष्ट्रपति पौडेलले कतारी राजाको सम्मानमा सोल्टी होटलमा राजकीय रात्रिभोज आयोजना गर्दै छन् ।
भ्रमणको दोस्रो दिन बुधबार बिहान कतारी राजा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच प्रतिनिधि मण्डलस्तरीय द्विपक्षीय भेटवार्ता हुने तय भएको छ । उक्त बैठकपछि दुई मुलुक बीचमा विभिन्न ५ क्षेत्रमा समझदारी हुने परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृतकुमार राईले जानकारी दिए ।