नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति

मेरो आर्थिक
जेठ १५ गते २०८१
समयः ७:३१ am

नेपाली चलचित्र क्षेत्रको नाम ‘सिनेमाण्डु’ राख्ने सहमति भएको छ । सोमबार चलचित्र विकास बोर्डले फिल्म सम्बद्ध संस्थालाई नामाकरणबारे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा ‘सिनेमाण्डु’ राख्ने सहमतिमा सहभागी संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।
बोर्डले सिनेमाण्डु, कान्तिपुर फिल्म्स र हिमालय फिल्म्समध्येबाट एक नाममा सहमति कायम गर्नुपर्ने भन्दै छलफलमा बोलाएको थियो । बोर्डको निर्णयपछि नामाकरणबारेको सिफारिस सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पठाइने भएको छ ।
‘सिनेमाण्डु’ नामाकरणबारे सहमति जुटेको र आजै बेलुका बस्ने बोर्ड बैठकले त्यसलाई अनुमोदन गर्ने बोर्ड अध्यक्ष भुवन केसीले बताए । अध्यक्ष केसीले भने, ‘सबै संघसंस्था त्यो नाममा सहमत छन् । बोर्ड बैठकले निर्णय गरेर यसलाई मन्त्रालयमा पठाउनेछ ।’ मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेपछि मात्रै नेपाली फिल्म क्षेत्रले नाम पाउनेछ ।