राप्ती गाउँपालिकामा आगामी मंसिर १३ गतेसम्मका लागि कुकुरको बन्ध्याकरण शिविर शुरु
मेरो आर्थिक
मंसिर १२ गते २०८१
समयः १०:३३ am
मेरो आर्थिक, समचारदाता, प्युठान । दिनानुदिन बढ्दो कुकुर आतङ्क नियन्त्रण गर्न दाङको राप्ती गाउँपालिकाले कुकुरको बन्ध्याकरण शुरु गरेको छ । पालिका क्षेत्रमा सामुदायिक कुकुरको संख्या बृद्धि भएसँगै दुर्घटना निम्त्याउनुका साथै घर पालुवा पशुचौपायालाई समेत क्षति पु¥याउन थालेपछि शिविर नैं सञ्चालन गरेर बन्ध्याकरण शुरु गर्नुपर्ने भएको हो ।
भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दाङसँगको सहकार्य एवं हिमालयन एनिमल रेस्क्यू कोष पोखराको प्राविधिक सहयोगमा वडा नं. ४ को गोपीनालास्थित पशु उपचार केन्द्रमा बन्ध्याकरण तथा रेबिज विरुद्धको खोप शिविर राप्ती गाउँपालिकाले सञ्चालन गर्दैछ । उक्त शिविरमा टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिने र बन्ध्याकरण गर्ने काम भइरहेको तथा बन्ध्याकरण गरिएका कुकुरहरुलाई पुनः नियन्त्रण गरिएकै स्थानमा लगेर छोड्ने गरिएको गाउँपालिकाले जनाएको छ ।
शिविरको पहिलो दिन वडा नम्बर ५ र ६ का विभिन्न टोलका ५० वटा कुकुरको बन्ध्याकरण गरिएको गाउँपालिकाका पशु विकास शाखा प्रमुख दामोदर आचार्यले जानकारी दिनुभयो । आचार्यका अनुसार शिविर मंसिर १३ गतेसम्म सञ्चालन हुनेछ ।