उपाध्यक्षसहित सात सदस्यले उठाए क्यानमा पारदर्शिताको प्रश्न !


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) मा पारदर्शिताको प्रश्न उठेको छ । क्यानका उपाध्यक्ष र सात जना केन्द्रीय सदस्यहरुले क्यानमा पारदर्शिताको प्रश्न उठाउदै संस्थागत प्रक्रिया, पारदर्शिता र सामुहिक निर्णय प्रणालीमा गम्भीर त्रुटी देखिएको आरोप लगाएका छन् ।
क्यानका उपाध्यक्ष रोशनकुमार सिंहसहित केन्द्रीय सदस्यहरु दुर्गाराज पाठक, प्रदिप मजगैया, विक्रम बिष्ट, माधव कर्माचार्य, विरेन्द्र चन्द, अर्जुन पौडेल र जयन्ती बिष्टले जेठ ३१ गते एक पत्र लेख्दै अध्यक्ष चतुरबहादुर चन्दलाई ध्यानाकर्षण पत्र बुझाएको विषय बाहिर आएको छ ।
ध्यानाकर्षण पत्रमा एनपीएल- २ को पहिलो संस्करणकै हिसाब बोर्डले माग्दा पाउन नसकेको उल्लेख गर्दै हालसम्म पनि सो हिसाब किताब बोर्डबाट अनुमोदन नभएको उल्लेख गरेका छन् । साथै उनीहरुले नेपालले वेस्ट इन्डिजसँग खेल्ने टी-२० सिरिजको जानकारी पनि मिडियाबाट पाएको बताउदै प्रक्रिया, पारदर्शिता र सामुहिक निर्णय प्रणालीमा गम्भीर त्रुटी देखिएको उल्लेख गरेका छन् ।
उनीहरुले क्यान एक दुई जना व्यक्तिको नभएको उल्लेख गर्दै क्यानलाई विधि, विधान र विनियामालीबाट संचालन हुनुपर्ने स्मरण गराएका छन् ।