प्रधानमन्त्री ओली स्पेनका लागि प्रस्थान


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा गएका छन् । प्रधानमन्त्री ओली केहिबेर अघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट स्पेनका लागि प्रस्थान गरेका हुन् ।
स्पेनको औपचारिक भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनमा आफ्ना समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।
प्रधानमन्त्रीले भ्रमणकै दौरान त्यहाँस्थित नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयलले जानकारी दिएको छ ।
सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट हुने छ । प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमालसहित २१ सदस्यीय प्रतिनिधिमण्डल स्पेन प्रस्थान गरेको छ ।