पत्रकार सम्मेलननै नगरी विमानस्थलबाट बाहिरिए प्रधानमन्त्री ओली


काठमाडौं । स्पेनको औपचारिक भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलननै नगरी बाहिरिएका छन् ।
विदेश भ्रमणबाट फर्कंदा विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्ने प्रचलन तोड्दै प्रधानमन्त्री ओली विमानस्थलबाट बाहिरिएका हुन् ।
परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले विमानस्थलको मिडिया कक्षमा प्रधानमन्त्री ओली उपस्थित नहुने जानकारी गराउदै प्रधानमन्त्रीको स्पेन भ्रमण बारे जानकारी गराएका थिए ।
प्रधानमन्त्री ओली असार १४ गते ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा भाग लिन स्पेन प्रस्थान गरेका थिए । भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले स्पेनमा आफ्ना समकक्षी पेड्रो सान्चेजसँग द्विपक्षीय भेटवार्ता गरेका थिए भने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गरेका थिए ।
भ्रमणका क्रममा नेपाली समुदाय र स्पेनिस उद्योगी व्यवसायीसँग पनि अन्तर्क्रिया गरेका थिए भने प्रधानमन्त्री ओलीको अन्य महत्त्वपूर्ण द्विपक्षीय भेटघाट गरेका थिए । यस भ्रमणमा प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णु रिमालसहित २१ सदस्यीय प्रतिनिधिमण्डल रहेको थियो ।