वैशाख १५ गते २०८३ --:--:--
मेनु

पशुपतिमा तीज पर्वको व्यवस्थापनको तयारी पुरा

मेरो आर्थिक मेरो आर्थिक भाद्र ९ गते २०८२ ६:३० AM
पशुपतिमा तीज पर्वको व्यवस्थापनको तयारी पुरा

काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले यो वर्षको हरितालिका (तीज) को व्यवस्थापनको तयारी पुरा भएको जानकारी दिएको छ ।

यो पर्वमा महिलाहरु आफ्नो परिवार र श्रीमानको दीर्घायुको कामना गर्दै व्रत बस्छन् । तीजमा महिलाहरु निर्जल, निराहार उपवास बस्ने गर्दछन् । मुलुकभरका शिवालयहरुमा व्रतालु महिलाहरुको भीड लाग्ने गरेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै कोषले पशुपति क्षेत्रमा तीज पर्वको तयारी पुरा भएको जानकारी दिएको हो । भगवान पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनहरुको सुविधाका लागि बाहिरी रुपमा चार स्थानबाट दर्शनमार्गको व्यवस्था गरिएको कोषले जनाएको छ । पशुपतिनाथको चारै वटा ढोका विहान ३ बजेबाट खोलिने छ भने भगवान् पशुपतिनाथको चन्दन पश्चिम ढोकाबाहिर सानो सदावर्त सत्तलअगाडि साथै पञ्चदेवल, पूर्वदक्षिण, उमाकुण्ड–दक्षिणमूर्ति, तिलंगगा–वनकाली, गौशाला, जयबागेश्वरीमा वितरण गरिनेछ ।

त्यस्तै विगत वर्षहरुमा जस्तै यसवर्ष पनि पशुपतिनाथमा नेपाल प्रहरीका साथै सशस्त्र प्रहरी बल नेपाल परिचालन गरिने भएको छ । कोषले आवश्यकताअनुसार नेपाली सेनाको पनि सहयोग लिने जानकारी दिएको छ । मेला क्षेत्रमा पाकेटमारी र अनियमित क्रियाकलाप हुन नदिन सादा पोशाकमा प्रहरी खटाई पर्वको २ दिन अगाडिदेखि नै त्यस्ता क्रियाकलापमा शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिने व्यवस्था गरको कोषले बताएको छ ।

तीजको दिन पशुपति कोर क्षेत्रमा अवस्थित कुलानन्द झा सत्तल पश्चिमको डवलीमा नेपाली सेनाको तर्फबाट र रुद्रगाडेश्वर पश्चिमको धार्मिक पाटिमा काठमाडौं महानगरपालिकाको तर्फबाट स्वास्थ्य शिविरको व्यवस्था गरिएको कोषले जानकारी दिएको छ । हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथका साथै देशभरका शिवालयमा पूजा एवं दर्शन गर्न भक्तजनको भीड लाग्छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?