उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन

मेरो आर्थिक
वैशाख २४ गते २०८१
समयः ७:२७ am

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार अल्पमतमा पर्ने खतरा बढेपछि उपप्रधानमन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी नेपाल विभाजन गराइएको छ । जसपा नेपालका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य अशोक राईको नेतृत्वमा पार्टी विभाजन गरिएको हो । राईसहित जसपा नेपालका सातजना सांसद र ३० जना केन्द्रीय सदस्यले आइतबार निर्वाचन आयोगमा पुगेर पार्टी विभाजित भएको जानकारीसहित पत्र दर्ता गराएका छन् । विभाजित पार्टीको नाम जनता समाजवादी पार्टी रहने बताइएको छ ।
जसपा नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव देशबाहिर हुनुहुन्छ । पार्टी विभाजन पक्षमा उभिने सातजना सांसदहरूमा अशोक राई, सुशीला श्रेष्ठ, प्रदीप यादव, नवलकिशोर साह, रञ्जुकुमारी झा, वीरेन्द्र महतो र हसिना खान रहनुभएको छ । नवलकिशोर साह वर्तमान सरकारमा वन तथा भूसंरक्षण मन्त्री रहनुभएको छ । निर्वाचन आयोगमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री साहले अध्यक्ष यादव वर्तमान सत्ता गठबन्धनविरुद्ध उभिन खोजेकाले प्रतिवाद गरिएको बताउनुभयो । ‘हाम्रो अध्यक्ष यो सरकारको स्थायित्वको पक्षमा उभिनुभएन । उहाँले गठबन्धनको विकल्प खोज्न थालेपछि हामी स्थायित्वको पक्षमा उभिएका छौँ । वर्तमान सरकारलाई हाम्रो पूर्ण साथ रहन्छ’, साहले भन्नुभयो ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याएर पार्टी फुटाइदिन खोजेको भन्दै २०७७ वैशाख १० गते समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीबीच एकता भएर जनता समाजवादी पार्टी नेपाल गठन भएको थियो । गठन भएको १६ महिनामै २०७८ भदौमा जसपा फुटेको थियो । महन्थ ठाकुरको नेतृत्वमा जसपा विभाजित भएर लोसपा बनेको थियो । जसपाबाटै छुट्टिएर डा.बाबुराम भट्टराईले नेपाल समाजवादी पार्टी बनाउनुभएको थियो ।