मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम : mero aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

मौसम पूर्वानुमान महाशाखाका अनुसार आजको मौसम

मेरो आर्थिक मेरो आर्थिक जेठ ७ गते २०८२

केही दिनयता देशका अधिकांश स्थानमा बादल लाग्ने र पानी पर्ने क्रम जारी छ । आगामी तीन दिन पनि हल्कादेखि मध्यम खालको वर्षा हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले पूर्वानुमान गरेको छ ।

अरेबियन सागर, बंगालको खाडी र स्थानीय वायुको प्रभावले केही दिनयता नेपालमा वर्षा गराइरहेको छ । यस्तो अवस्था आगामी तीन दिनसम्मै रहने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाकी वरिष्ठ मौसमविद प्रतिभा मानन्धरले जानकारी दिइन् । अहिलेको पानी पर्ने तरिका हेर्दा यस वर्ष मनसुन भित्रिन ढिलो नहुने अड्कल गर्न थालिएको छ । वरिष्ठ मौसमविद् मिनकुमार अर्याललाई पनि त्यस्तै लागिरहेको छ । उनी भन्छन्, ‘अहिले जलवाष्पयुक्त हावाको जुन खालको मुभमेन्ट देखिएको छ, त्यसले अलिअलि मनसुनल प्यार्टन देखाइरहेको छ । यसपालि मनसुन नेपाल भित्रिन ढिलो नहुन सक्छ ।’

तर प्रिमनसुनमा परिरहेको पानीकै आधारमा मनसुन छिटो आउँछ भन्न नसकिने उनी बताउँछन् । ‘एटमोस्फेरिक साइन्स एकदमै जटिल हुन्छ । अहिले पानी परेको हेरेर मनसुन छिटो आउने र ढिलो आउने भन्ने हुँदैन,’ वरिष्ठ मौसमविद अर्याल भन्छन्, ‘होल ग्लोबल सिस्टम हेर्दा यसपालि नेपालमा मनसुन भित्रिन ढिलो नहुन सक्ने अड्कल गरिएको हो ।’नेपालमा सामान्यतया १३ जुनमा मनसुन भित्रिएर २ अक्टुबरमा बाहिरिने गर्दछ । मनसुन भित्रिने र बाहिरिने गति सामान्य भएमा नेपालमा ११२ दिनसम्म मनसुन रहन्छ । मनसुन अवधिमा पर्याप्त पानी पर्ने भएकाले खेतिपाती खासगरी नेपालको मुख्यबाली धान उत्पादनमा सघाउ पुग्छ । तर वर्षासँगै बाढी, पहिरो र डुबान जस्ता प्रकोपले जनधनको क्षति समेत हुने हुँदा चिन्ता पनि बढ्ने गर्दछ ।