नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त : mero aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त

मेरो आर्थिक मेरो आर्थिक मंसिर ११ गते २०८१

नेपाल धितोपत्र बोर्डको अध्यक्षमा सन्तोषनारायण श्रेष्ठ नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको एक मन्त्रीले जानकारी दिए । 

धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिले आइतबार सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र डा. नवराज अधिकारीको नाम सिफारिस गरेको थियो । यसअघि नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्य रहेका श्रेष्ठ व्यावसायिक पृष्ठभूमिका हुन् । 

उनले एमबीएसम्मको अध्ययन गरेका छन् । योसँगै अघिल्लो वर्ष पुस २० गतेदेखि रिक्त धितोपत्र बोर्डले नयाँ अध्यक्ष पाएको छ । तत्कालीन अध्यक्ष रमेश हमालको दुई वर्षे कार्यकाल २०८० पुस २० गते सकिएको थियो ।

धितोपत्र सम्बन्धी ऐन, २०६३ मा नेपाल धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएमा अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्यले बोर्डको अध्यक्ष हैसियतमा काम गर्ने व्यवस्था छ । त्यसैअनुसार नयाँ अध्यक्ष नियुक्त नहुन्जेल अर्थमन्त्रालयले कर्मचारीलाई नै अध्यक्षको हैसियतमा पठाउँदै आएको थियो । 

हमालको कार्यकाल सकिएपछि २०८० माघ ३ गते सरकारले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष मीनबहादुर श्रेष्ठको संयोजकत्वमा सिफारिस समिति गठन गरेको थियो ।