Skip to content
logo
कार्तिक ३ गते २०८१ समयः

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज युएई प्रस्थान गर्दै

मेरो आर्थिक
मेरो आर्थिक
मंसिर १३ गते २०८०
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’आज युएई प्रस्थान गर्दै

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी सम्मेलन (कोप–२८) मा सहभागी हुन आज (बुधबार) संयुक्त अरब इमिरेट्स (युएई) प्रस्थान गर्दै हुनुहुन्छ । प्रधानमन्त्री प्रचण्ड नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–२८ सम्मेलनका उच्चस्तरीय कार्यक्रममा सहभागी हुन युएई जान लाग्नुभएको हो ।

कोप–२८ सम्मेलन बिहीबारदेखि दुबईमा सुरु हुँदैछ  । उहाँले शनिवार १६ मंसिरमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ  । मंसिर १५ र १६ मा प्रधानमन्त्री प्रचण्ड ‘वल्र्ड क्लाइमेट एक्सन समिट’अन्तर्गत ‘हाई लेभल सेग्मेन्ट’मा सहभागी हुनु हुनेछ । प्रधानमन्त्री प्रचण्डले बिहीबार आबुधाबीमा रहेको नेपाली राजदूतावास भ्रमण गर्ने र नेपाली समुदायसँग अन्तरक्रिया गर्ने पनि कार्यक्रम छ । उहाँ युएईको ५२औँ एकता दिवसमा आयोजित समारोहमा सहभागी हुनुहुने छ ।

प्रधानमन्त्री प्रचण्डले सम्मेलनकै दौरानमा उच्चस्तरीय साइड इभेन्ट पनि आयोजना गर्दै हुनुहुन्छ । जसको नाम ‘हिमालको आवाज हामीलाई जलवायु संकटबाट कसले बचाउँछ ’ राखिएको छ । हिमालको एजेण्डालाई कोप सम्मेलनका बेला छलफलको प्रक्रियामा ध्यानाकर्षण गराउन नेपालले कार्यक्रम आयोजना गर्न लागेको नेपाली राजदूतावासले जनाएको छ ।

दुबईमा रहँदा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मुलुकका सरकार प्रमुख, राष्ट्र प्रमुख तथा उच्चस्तरीय नेतृत्वसँग साइडलाइन भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री प्रचण्ड १७ मंसिरमा स्वदेश फर्किने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्डले कोप सम्मेलनमा अन्तर्राष्ट्रिय समुदायसँग अधिकारको मुद्दा उठाउने बताउँदै आउनु भएको छ । नेपाल अहिले जलवायु परिवर्तनका कारण डरलाग्दो स्थितितिर जाँदै गरेकाले अन्तर्राष्ट्रिय समुदायसँग अधिकारको मुद्दा उठाउने उहाँले बताउनु भएको छ ।

प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोसमेत सहभागी हुनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलमा उहाँकी छोरी गंगा दाहाल र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि सहभागी हुनुहुनेछ ।

Add a new comment