दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्रीबाट बजेट प्रस्तुत हुने, बजेटको आकार तय : Mero Aarthik
असार १७ गते २०८२
ब्रेकिङ न्यूज

दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्रीबाट बजेट प्रस्तुत हुने, बजेटको आकार तय

मेरो आर्थिक मेरो आर्थिक जेठ १५ गते २०८१

आज जेठको १५ गते नेपाल सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) आज संघीय संसद्मा प्रस्तुत गर्ने कार्यक्रम तय गरेको छ । बजेट प्रत्येक वर्ष जेठको १५ गते संघीय संसद्मा पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

बजेट वक्तव्यका लागि प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक दिउँसो १ बजे आह्वान गरिएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट वक्तव्य प्रस्तुत गर्नेछन् । बजेटको आकार १९ खर्ब हाराहारी हुने अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

केही दिनअघि माओवादी संसदीय दलको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १९ खर्ब हाराहारीको बजेट ल्याउने तयारी रहेको जानकारी गराएका थिए । यद्यपि, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। मीनबहादुर श्रेष्ठको संयोजकत्वमा राष्ट्रिय स्रोत अनुमान समितिले १८ खर्बको बजेट सिलिङ अर्थ मन्त्रालयलाई दिएको थियो । ‘२९ माघमा बसेको राष्ट्रिय स्रोत अनुमान समितिको बैठकले १८ खर्ब रुपैयाँ सिलिङ तोकेको थियो । तर, स्रोत र खर्चको अनुमान फागुनदेखि वैशाखसम्म सुधार भएको पाएपछि सिलिङ पुनः संशोधन गरी १९ खर्ब ४९ अर्ब तोकिएको हो,’ स्रोतले भन्यो ।

संविधानको धारा ११९ मा अर्थमन्त्रीले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा राजस्वको अनुमान, संघीय सञ्चित कोषमाथि व्ययभार हुने आवश्यक रकमहरू र संघीय विनियोजन ऐनबमोजिम व्यय हुने आवश्यक रकमहरू खुलाई वार्षिक अनुमान पेस गर्नुपर्ने व्यवस्था छ । साथै, वार्षिक अनुमान पेस गर्दा अघिल्लो आर्थिक वर्षमा प्रत्येक मन्त्रालयलाई छुट्याइएको खर्चको रकम र त्यस्तो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन, त्यसको विवरण पनि साथै पेस गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले १५ जेठमा संसद्मा बजेट ल्याउनुपर्ने संवैधानिक प्रबन्धअनुसार मंगलबार दुवै सभाको संयुक्त बैठकमा अर्थमन्त्रीबाट बजेट प्रस्तुत हुने बताए ।

यो समाचार पढेर तपाँईलाई कस्तो महसुस भयो ?
खुसी
0%
दुखी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
0%

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?