विष्फोटक पदार्थ विस्फोट भएर दुई बालबालिकाको मृत्यु, अर्कोपनि शंखात्मक बस्तु फेला
मेरो आर्थिक
भाद्र १४ गते २०८१
समयः ७:५९ am
मेरो आर्थिक । १४ भदौ, ताप्लेजुङ । पाँचथरको फालेलुङ गाउँपालिका–५ प्राङबुङमा विष्फोटक पदार्थ विस्फोट भएर दुई बालबालिकाको मृत्यु भएको छ । बिहीबार अपराह्न साढे २ बजेतिर खेलिरहेका बेला विष्फोट भएको हो ।
बिष्फोट लगत्तै स्थानीय त्यहाँ पुग्दा तीन जना बालबालिका घाइते अवस्थामा भेटिएका थिए । आइतराज केरुङको घरमा बिहीबार साढे ३ बजेतिर बम विष्फोट भएको थियो । दिलिपको परिवार केरुङको घरमा बस्दै आएको थियो । पाँचथरका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दिलिप साँवाकी अढाइ वर्षीया छोरी प्रिन्सा र ११ वर्षीय छोरा दिप्सनको मृत्यु भएको हो । प्रिन्साको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटैमा र दिप्सनको इलाममा मृत्यु भएको हो ।
विष्फोटमा उनका चार छोरा–छोरी घाइते भएका थिए । घाइतेमध्ये प्रिन्सा र दिप्सनको मृत्यु भएको हो । ९ वर्षीय छोरा पवन र अर्का एक बालकको अवस्था सामान्य छ ।
घटनास्थलमा फलामको डल्लो जस्तो वस्तु पड्किएको अवस्थामा भेटिएको छ । त्यो वस्तु ह्याण्डमेड ग्रिनेड भएको पत्ता लागेको प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कोइरालाले जानकारी दिए । त्यसको नजिकै अर्को एउटा खिया लागेको फलामको डल्लो भेटिएको छ । त्यो पनि विष्फोटक पदार्थ हुन सक्ने अनुमानमा नेपाली सेनाको टोली घटनास्थल पठाइएको छ । हाल सो स्थानलाई नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएको छ ।