उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले निजामति कर्मचारीहरू सेवाग्राहीलाई केन्द्रमा राखेर सरल, छरितो र परिणाममुखी सेवा प्रवाह गर्न प्रतिबद्ध हुनुपर्ने बताएका छन् । निजामति सेवा दिवसको अवसरमा आज काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै सिंहले सो कुरा बताएका हुन् ।
उनले समृद्ध नेपाल स् सुखी नेपालीको दीर्घकालीन लक्ष्य हासिल गर्न निजामति प्रशासनले राजनीतिक मार्गदर्शनमा रही आफ्नो भूमिका बहन गर्नुपर्ने बताए । नागरिकले विकास र सुशासनको अपेक्षा गरिरहेका सन्दर्भमा निजामति सेवाले सोहीअनुरूप आफूलाई समायोजन, अनुकूलन र परिष्कृत गर्नु अपरिहार्य रहेको सिंहको भनाइ छ ।
उनले संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै सङ्घीयताको प्रभावकारी कार्यान्वयन,सार्वजनिक सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई केन्द्रमा राखी सरकार अगाडि बढिरहेको बताए ।
‘मुलुकले लिएको दीर्घकालीन लक्ष्य, आवधिक योजना, नेपाल सरकारको नीति तथा कार्यक्रमका साथै चालु आर्थिक वर्षको बजेटलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्नु निजामति सेवाको मुख्य जिम्मेवारी हो,’ ‘उपप्रधानमन्त्री सिंहले भने आमजनतामा व्याप्त निराशालाई चिर्दै आशाको सञ्चारसहित राष्ट्र निर्माणको अभियानमा निजामति कर्मचारीहरूको क्रियाशीलता थप अभिवृद्धि हुने विश्वास लिएको छु ।’













