काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि मतदान राति ७ बजेदेखि शुरु हुने भएको छ ।
केन्द्रीय निर्वाचन आयोगले नयाँ तालिका सार्बजनिक गर्दै राति ७ बजेदेखि १ बजेसम्म मतदान हुने जानकारी दिएको हो । आयोगले विद्युतीय मतदान मेसिनमा उम्मेदवारको नाम सेटिंग गरी परीक्षण गर्न समय लागेकाले राति मात्र मतदान शुरु हुने जानकारी दिएको छ ।
आयोगले मतदानमा ८० मेसिनको प्रयोग गरिरहेको जानकारी दिएको छ भने १० मेसिन ब्याकअपमा हुने र ५ मेसिन मतदानको अभ्यासका लागि राखिएको आयोगले जनाएको छ ।
क्लस्टर अनुसार मतदान गर्नुपर्ने हुनाले एक प्रतिनिधिलाई मतदान गर्न २५ मिनेट भन्दा बढी समय लाग्ने बताइएको छ । यस अनुसार २ हजार २६२ मतदाताले मतदान गर्न करिब ७ घण्टा लाग्ने देखिएको छ । एमालेको नयाँ नेतृत्वका लागि पदाधिकारीसहित ३०१ पदका लागि ६०३ उम्मेदवार रहेका छन् ।













