काठमाडौं । जेनजी आन्दोलनपछि सत्ता बाहिरिएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री सुशीला कार्कीबीच पछिल्लो समय संवादको वातावरण क्रमशः सहज बन्दै गएको छ। प्रारम्भिक दिनहरूमा दुवै नेताबीच सार्वजनिक रूपमा कडा आलोचना र प्रतिवाद देखिए पनि हाल राजनीतिक घटनाक्रम र आगामी चुनावका विषयमा आपसी छलफल बढ्न थालेको हो।
यसै सन्दर्भमा बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र पूर्वप्रधानमन्त्री ओलीबीच शान्त र एकान्त भेटवार्ता भएको छ। बिहान करिब ११ बजे ओली कुनै पनि दलका नेताहरूलाई साथ नलिई बालुवाटार पुगेका थिए। उनको साथमा स्वकीय सचिव राजेश बज्राचार्य मात्रै थिए।
प्रधानमन्त्री कार्कीले पछिल्ला दिनहरूमा शीर्ष राजनीतिक नेताहरूसँग संवाद बढाउने संकेत गरेकी थिइन्। तर यसैबीच उनका पति दुर्गा सुवेदी बिरामी भई उपचारका लागि दिल्लीमा रहेको खबर सार्वजनिक भएको थियो। उक्त जानकारी पाएपछि ओली सुवेदीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै प्रधानमन्त्रीसँग राजनीतिक छलफल गर्ने उद्देश्यले बालुवाटार पुगेका स्रोतले जनाएको छ।
बालुवाटारमा ओलीले सुवेदीको स्वास्थ्यप्रति चासो व्यक्त गरेपछि केही समय पारिवारिक कुराकानी भएको थियो। त्यसपछि प्रधानमन्त्री कार्की र ओलीबीच करिब तीन घण्टा लामो एकान्त वार्ता भएको बताइएको छ।
छलफलका क्रममा प्रधानमन्त्री कार्कीले समयमै चुनाव सम्पन्न गर्ने दिशामा सरकार सक्रिय रहेको र त्यसका लागि सबै राजनीतिक दलहरूको सहकार्य आवश्यक रहेको विषयमा जोड दिएको स्रोतको भनाइ छ। भेटवार्ताले आगामी राजनीतिक सहकार्य र संवादलाई थप सकारात्मक बनाउने अपेक्षा गरिएको छ।













