काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक चितवनको ३ नम्बर क्षेत्र पनि रहेको छ । रेणु दाहाल र सोबिता गौतमको उम्मेदवारीका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
चितवनको ३ नम्बर क्षेत्रमा माडी नगरपालिकाका नौं वटा वडा र भरतपुर महानगरपालिकाका ६, ८ र ९ तथा १३ देखि २८ नम्बर वडाहरू समावेश गरिएको छ ।
चितवन-३ बाट यस निर्वाचनमा मतदान गर्न सक्ने कुल मतदाताको संख्या एक लाख ५५ हजार ३०९ रहेको छ । यस क्षेत्रमा यस निर्वाचनमा १७४ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन
यसअघि २०७९ को निर्वाचनमा चितवन-३ मा राप्रपाका नेता विक्रम पाण्डे विजयी भएका थिए । पाण्डेले ३५ हजार ६० मत प्राप्त गर्दै विजयी भएका थिए । उनलाई एमालेले समर्थन गरेको थियो । त्यस्तै दोस्रो स्थानमा रहेका तत्कालिन माओवादी केन्द्रका भोजराज अधिकारीले २५ हजार ८२४ मत प्राप्त गरेका थिए । उनलाई काँग्रेसले समर्थन गरेको थियो । त्यस्तै काँग्रेसका दिनेश कोइराला पार्टीको निर्णयविरुद्ध स्वतन्त्र उम्मेदवार बन्दै १२ हजार २७५ मत प्राप्त गरेका थिए । त्यसैगरी रास्वपाकी जीता बरालले १४ हजार ८४३ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेकी थिइन् ।
त्यस्तै समानुपातिकतर्फ भने यस क्षेत्रमा सबै भन्दा बढी मत रास्वपाले हासिल गरेको थियो । रास्वपाले यस क्षेत्रबाट समानुपातिकमा २८ हजार ४०१ मत प्राप्त गरेको थियो । त्यस्तै राप्रपाले १६ हजार ७५५ मत प्राप्त गरेको थियो । त्यसैगरी तत्कालिन माओवादी केन्द्रले १६ हजार ९० मत प्राप्त गरेको थियो भने एमालेले १४ हजार ५२२ मत प्राप्त गरेको थियो । त्यस्तै नेपाली कांग्रेसले १० हजार ५२४ मत प्राप्त गरेको थियो ।
उम्मेदवार
यस क्षेत्रमा भरतपुर महानगरकी प्रमुख रहेकी रेणु दाहालले राजीनामा दिएर नेकपाबाट उम्मेदवार बनेकी छन् । दुई कार्यक्रम महानगरको प्रमुख भएर काम गरेको आधारमा उनले संसदीय निर्वाचनमा मैदानमा उत्रिएकी छन् । त्यस्तै रास्वपाकी चर्चित नेतृ सोबिता गौतमको उम्मेदवारीले पनि यस क्षेत्रलाई चर्चामा ल्याएको छ । यस क्षेत्रमा रेणु र सोबिताको चर्चा भईरहदा काँग्रेसले टेक प्रसाद गुरुङलाई उम्मेदवार बनाएको छ भने नेकपा एमालेले शंकरराज थपलियालाई उम्मेदवार बनाएको छ । त्यस्तै राप्रपाले दीपक थापा मगरलाई उम्मेदवार बनाएको छ । यस क्षेत्रमा सबै गरेर २३ जना उम्मेदवार चुनावी प्रतिष्पर्धामा रहेका छन् ।













