काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले प्रधानमन्त्रीका उम्मेदवारहरुको सार्बजनिक बहसमा सहभागी हुन अस्वीकार गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले ‘पब्लिक डिबेट’को लागि आफू तयार भएको सामाजिक सञ्जालमार्फत बताएपछि सोहि स्ट्याटसमा कमेन्ट गर्दै बालेनले त्यसलाई अस्विकार गरेका हुन् ।
ओलीले लेखेको स्टाटसमा कमेन्ट गर्दै बालेनले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिने भन्दै बहसमा नबस्ने बताएका छन् ।
बालेनले लेखेका छन्- ‘आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन् तपाईंहरूलाई नै थाहा थियो ! तपाईंहरूले आफैं २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो ! आफूलाई आतङ्कवादी चाहिँ कहिले स्वीकार्ने हो ? त्यो पछि अरू कुरा गरौँला ! ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको म पनि त्यसमा सामेल भएको बुझिनेछ।’
यस अघि भावि प्रधानमन्त्रीको उम्मेदवारका रुपमा चुनावमा होमिएका नेताबिच पब्लिक डिबेट हुनुपर्ने माग भइरहेको समयमा ओलीले यसका लागि आफू तयार भएको बताएका थिए । यस विषयमा नेपाली कांग्रेस सभापति गगन थापाको अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।













