बुटवल । नवलपरासी पश्चिम जिल्ला प्रशासनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको कार्यक्रमका वारेम नवलपरासी प्रशासनले सचेत गराएको छ ।
जिल्ला दौडाहमा रहेका लामिछाने मंगलबार नवलपरासी पश्चिमका विभिन्न ठाउँमा आयोजना गरिएको कार्यक्रममा सहभागी हुने समय तय गरिएको थियो । मंगलबार लामिछानेको नवलपरासी पश्चिमको क्षेत्र नम्बर १ र २ मा बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म उक्त कार्यक्रम हुने जानकारी दिएको छ ।
रवि लामिछाने सहभागी हुने उक्त कार्यक्रम निर्वाचन आचारसंहिता विपरीत रहेको भन्दै प्रशासनले निर्वाचन आचारसंहिताविपरित हुने गरि कार्यक्रम नगर्न सचेत गराएको हो ।
प्रशासनले भनेको छ- ‘प्रतिनिधि सभा सदस्यको आसन्न निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, स्वच्छ, पारदर्शी, मितव्ययी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगद्वारा निर्वाचन आचारसंहिता, २०८२ लागु भई परिपालना सम्बन्धमा मिति २०८२ साल माघ १४ गते सूचना समेत जारी भएको व्यहोरा विदित्तै छ । उपर्युक्त सम्बन्धमा मिति २०८२ साल माघ २७ गते यस जिल्लामा ‘राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जनसम्पर्क तथा घण्टी अभिवादन कार्यक्रम’ रहेको सूचना प्राप्त हुन आएकाले सो सम्बन्धमा निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने गरी निर्वाचन आचारसंहिता विपरितका गतिविधि नगर्नु, नगराउनु हुन सम्बन्धित सबैमा जानकारी गराईन्छ ।’












