काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा सबै भन्दा बढी चर्चामा रहेको क्षेत्र मध्ये एक सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको क्षेत्र नम्बर १ पनि चर्चामा रहेको छ । यस क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका नेता भीम रावल उम्मेदवार रहेका कारण यो क्षेत्र चर्चामा रहेको छ ।
अछामको क्षेत्र नम्बर १ संसदीय निर्वाचन क्षेत्रमा साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका, बान्नीगढी जयगढ गाउँपालिका र रामारोशन गाउँपालिका समावेश रहेका छन् ।
निर्वाचन आयोगका अनुसार अछाम- १ मा मतदान गर्न सक्ने कुल मतदाताको संख्या ८२ हजार ५१३ जना रहेका छन् । यस क्षेत्रमा यस निर्वाचनमा १०५ मतदान केन्द्र तोकिएको छ ।
पछिल्लो निर्वाचन- २०७९
२०७९ को निर्वाचनमा अछाम- १ बाट एकीकृत समाजवादीका शेरबहादुर कुँवर विजयी भएका थिए । कुँवरले १९ हजार ५३४ मत प्राप्त गरेका थिए । त्यस्तै दोस्रो भएका नेकपा एमालेका झपट बहादुर बोहराले १५ हजार ४५ मत प्राप्त गरेका थिए । यस निर्वाचनमा काँग्रेस र माओवादी केन्द्रले एकीकृत समाजवादीलाई समर्थन गरेको थियो ।
२०७९ को समानुपातिकतर्फ नेपाली काँग्रेसले १४ हजार ५२५ मत प्राप्त गरेको थियो । त्यस्तै एमालेले १३ हजार ९६८ मत प्राप्त गर्यो भने माओवादी केन्द्रले ७ हजार २२८ मत प्राप्त गरेको थियो ।
उम्मेदवार- २०८२
यस पटक अछाम-१ मा एक स्वत्रन्त्रसहित दलहरुका गरेर कुल ८ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन् । यस निर्वाचनमा नेकपाबाट भीम रावल, नेकपा एमालेले दिपक बहादुर साउद, नेपाली काँग्रेसबाट भरत कुमार स्वार उम्मेदवार बनेका छन् । त्यस्तै रास्वपाबाट ओमप्रकाश रावल, राप्रपाबाट लोकेन्द्र बहादुर शाह, नेपाल मजदुर किसान पार्टीबाट सुरेन्द्र शाही, नेकपा माओवादी लोकेन्द्र बहादुर शाही र स्वतन्त्र भिम बहादुर कुँवर उम्मेदवार बनेको छ ।
निष्कर्ष:
अछाम- १ बाट ४८ यता भीम रावल दुई पटक र शेर बहादुर कुँवर दुई पटक विजयी भएका थिए । त्यस्तै एक पटक गोविन्द बहादुर शाहले एक पटक चुनाव जितेका छन् ।
यसअघि गठबन्धन गरेर चुनाव हुने गरेकोमा यस पटक अलग अलग दलहरु चुनावमा भएकोले दल र उम्मेदवारको असली परीक्षा अछाम-१ मा पनि हुने देखिएको छ । अघिल्लो चुनावमा तत्कालिन एमालेबाट टिकट नपाएका भीम रावल यस पटक नेकपामा गएर उम्मेदवार बनेका छन् । नेकपाका हाइप्रोफाइल नेता भएकाले उनी चुनाव जित्ने सम्भावना भएका नेता हुन् । तर यस पटक गठबन्धन नभएकाले दल र नेताको प्रभावका आधरमा चुनावको नतिजा आउने छ ।













