मंसिर ४ गते २०८३ --:--:--
मेनु

पुँजीबजार सुधारका लागि २१ बुँदे योजना कार्यान्वयनमा ल्याउन ब्रोकर एसोसिएसनको आग्रह

मेरो आर्थिक मेरो आर्थिक • मंसिर ४ गते २०८३ ११:४५ AM
पुँजीबजार सुधारका लागि २१ बुँदे योजना कार्यान्वयनमा ल्याउन ब्रोकर एसोसिएसनको आग्रह

काठमाडौं । स्टक ब्रोकर एसोसिएसन अफ नेपालले नेपालको पुँजीबजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीकर्तामैत्री बनाउन सरकारले अघि सारेको २१ बुँदे सुधार तथा पुनरुत्थान कार्ययोजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको छ।

एसोसिएसनका अध्यक्ष सागर ढकालको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रताप सुबेदीसँग भेट गरी कार्ययोजनाको कार्यान्वयनलाई प्राथमिकता दिन आग्रह गरेको हो।

भेटका क्रममा अध्यक्ष ढकालले सरकारले अघि सारेका सुधारका कार्यक्रम समयमै कार्यान्वयन हुन सके पुँजीबजारमा देखिएका विभिन्न समस्या समाधान गर्न सहयोग पुग्ने बताए। यसले बजारप्रति लगानीकर्ताको विश्वास बढाउनुका साथै कारोबार प्रणालीलाई थप पारदर्शी र व्यवस्थित बनाउन महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो।

उनले नेपालको पुँजीबजारको दिगो विकासका लागि नियामक निकाय, नेप्से, धितोपत्र व्यवसायी तथा अन्य सरोकारवाला संस्थाबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए।

जवाफमा नेप्सेका सीईओ सुबेदीले पुँजीबजारको विकास र सुधारका लागि सम्बन्धित निकाय तथा सरोकारवालासँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले अर्थ मन्त्रालयको २१ बुँदे सुधार तथा पुनरुत्थान कार्ययोजना कार्यान्वयनका लागि आवश्यक पहल गर्ने बताए।

एसोसिएसनले पनि पुँजीबजार सुधारका गतिविधिमा नेप्सेसँग सहकार्य गर्दै बजारलाई पारदर्शी, व्यवस्थित र लगानीकर्ताको हितअनुकूल बनाउन रचनात्मक भूमिका निर्वाह गर्ने जनाएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?