नागढुंगा–मुग्लिङ सडकमा कार्य प्रगति सुस्त, यात्रुलाई सास्ती
मेरो आर्थिक
माघ १८ गते २०८०
समयः २:१५ pm
विश्व बैंकको ऋण सहयोगमा स्तरोन्नति थालिएको नागढुंगा–मुग्लिङ सडकको पहिलो खण्ड नागढुंगा–नौबिसे छ । १२.२६ किमि दूरीको यो खण्डको १ अर्ब ३० करोड ८४ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी २०७९ जेठ २६ बाट थालिएको थियो । २ वर्षभित्र सक्नुपर्नेमा निर्माण थालेको १९ महिना बितिसक्दा भौतिक प्रगति भने ३६ प्रतिशत मात्र छ ।
नागढुंगा–मुग्लिङ सडकलाई तीन खण्डमा विभाजन गरेर ठेक्का लगाइएकोमा काम भने सुस्त देखिएको छ । नागढुंगादेखि नौबिसे र नौबिसेदेखि मलेखुसम्मको खण्डमा जथाभावी सडक भत्काएर काम गर्दा यात्रुले धूलो र ट्राफिक जामको सास्ती खेप्नुपर्ने बाध्यता छ ।
पहिलो खण्ड जाङ्सु–सगुन जेभीले लिएको ठेक्का ५ महिनाभित्र ६४ प्रतिशत काम सकिने अवस्था देखिँदैन । तर सडक विभागअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाका सिनियर डिभिजनल इन्जिनियर त्रिलोकनाथ घिमिरेले भने पर्खाल र नाली निर्माणको धेरै काम सकिइसकेको बताए । सो खण्डमा पर्खाल र नालीको धेरैजसो काम सकिइसकेको छ, सडक कालोपत्रका लागि पनि तयारी भइरहेको भने केही–केही ठाउँमा रूख कटानको समस्या भएर पनि काममा ढिलाइ भएकोले तोकिएकै समयमा सक्ने गरी प्रयास भइरहेको घिमिरेको भनाइ छ ।
दोस्रो खण्ड नौबिसे–मलेखु र तेस्रो खण्ड मलेखु–मुग्लिङमा भनि काम उत्तिकै सुस्त देखिन्छ । दुई अलग अलग कम्पनीले लिएको ठेक्कामा पनि काममा ढिलासुस्ती छ जसको मर्का आम सर्वसाधारणले खेप्नु परेको छ । सुरु सम्झौताअनुसार ०८२ जेठ २५ भित्र स्तरोन्नतिको काम सकिसक्नुपर्नेछ । तर निर्माणको समय १७ महिना बाँकी छँदा यो खण्डको भौतिक प्रगति भने १४ प्रतिशत मात्रै छ ।